३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

हिरासतभित्रको रविको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गरिने



हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि प्रहरीले कारवाही गर्ने भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरण प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो बुधबार राती सार्वजनिक भएको थियो । तस्विर सार्वजनिक भएपछि रास्वपाका कार्यकर्ताहरुले प्रहरीले नियतवस तस्बिर सार्वजनिक गरेको भन्दै आलोचना गरेको थियो ।

तस्बिर रविको हो वा होइन, हो भने कस्ले कसरी सार्वजनिक गरेको भन्ने विषयमा अनुसन्धान गरेको प्रहरीले उक्त तस्बिर रविकै भएको निष्कर्षमा पुगेको छ भने सार्वजनकि गर्नेलाई कारवाही गर्ने जनाएको छ ।

गृहमन्त्री लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्विर कसरी बाहिर आयो भन्ने प्रश्न सुरु भएको थियो । गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत चासो राखेका थिए । गृहमन्त्रीले भने, ‘यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइसकेको छु ।’

जिम्मा लिए निकोलस भुसालले

आफूलाई सामाजिक अभियन्ता बताउने रास्वपाकै समर्थक निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको दाबी गरेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मैले हिरासतभित्र गएर पनि खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए ।’

निकोलसले बिहीबार आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका छन् । ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’

बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् । उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ उनले भने, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ५ : १५ बजे