श्रीमती अञ्जना कोइराला सहकारी ठगी मुद्दामा फरार रहेकामा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरिएको छ ।
माओणवादीका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले पदबाट राजीनामा गर्न माग गरेका हुन् ।
सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने मोदीको दावी थियो । ‘सहकारीका बारेमा तपाईंको परिवार र तपाईंमाथि पनि प्रश्न उठिरहेको छ । सरकारका काम-कारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ,’ उनले भने ।
सार्वजनिक लेखा समितिलाई सरकारको छाया बनाइएको पनि मोदीको आरोप थियो । ‘सरकारको छाया सार्वजनिक लेखा समिति त होइन भन्ने प्रश्न उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीको सभापति हुनुहुन्छ । यसबारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ । तपाईंले मार्ग प्रशस्त गरिदिए राम्रो,’ उनले भने ।
संसद्को सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने पनि मोदीको भनाइ थियो । ‘तपाईंको परिवारका बारेमा प्रश्न उठेको छ । तपाईंबारे पनि प्रश्न उठेको छ । सकारको नेतृत्व गरिरहेको दलको हुनुहुन्छ र लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने हुन्छ,’ उनले भने ।
मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी कोइरालाविरूद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छिन् । कोइरालासहित २५ जनाविरूद्ध गत पुस २ गते जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो ।









