२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

एमालेमा ओलीको मनपरी, भि रावल निष्कासित, पाण्डे र तिम्सेना निलम्बित



एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली झनझन असहिष्णु हुन थालेको छ । उनको अघि नेताहरु निरिह देखिन थालेका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले तीन नेतालाई कारवाही गरेको छ । एमाले सचिवालय बैठक राखेर ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।

आफू पार्टी विधिविपरीत गएको महसुस नगरेका कारण उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । रावलले दशौं महाधिवेशनमा ओलीबिरुद्ध उम्मेदवारी दिएका थिए भने पाण्डे र तिमिल्सिनाले व्यवसायी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा लिएको विषयमा विरोध जनाएका थिए ।

रावलले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

त्यसमा रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीले आफैं केन्द्रीय कार्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा दानबाट निर्माण गर्नु गलत हुने भन्दै स्पष्टीकरण दिएका थिए । रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् ।

कारबाहीको निर्णयपछि रावलले यसलाई अध्यक्ष ओलीको निरंकुश, स्वेच्छाचार र तानाशाही प्रवृत्ति भनी प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १२ : २३ बजे