झण्डै डेढ सातादेखि दक्षिणी क्यालिफोर्निया क्षेत्रमा फैलिएको भिषण डढेलो अझै निभाउन सकिएको छैन । बुधबार त्यस क्षेत्रलाई ‘विशेष रूपले खतरनाक अवस्था’ को दुर्लभ चेतावनी जारी गरिएको छ । डढेलोमा परेर कम्तीमा २५ जनाको ज्यान गइट्ठकेको छ भने हजारौं घरहरु नष्ट भएका छन् ।
मंगलबार अपेक्षा गरिएभन्दा कम तीव्र हावाले अग्निनियन्त्रकहरूलाई दुई ठूला डढेलो नियन्त्रण गर्न र नयाँ आगलागी चाँडै निभाउन मद्दत पुगेको थियो । तर बुधबार फेरी प्रतिकुल मौसमको चेतावनी जारी गरिएको छ ।
लस एन्जलसको उत्तरतिर रहेको ईटन र प्यासिफिक पालिसेड्सबाट डढेलो गत जनवरी ७ मा सुरु भएको थियो । यो डढेलोले उच्च हावाको गतिका कारण चाँडै फैलिँदै टाढा-टाढा सम्म ज्वलनशील कण पुर्याएको थियो । त्यसले डढेलोलाई तिब्ररुपमा फैलन सहयोग गर्यो ।
राष्ट्रिय मौसम सेवा विभागले बुधबार बिहान ३ बजे देखि दिउँसो ३ बजेसम्म क्यालिफोर्नियाको ४४३ किलोमिटर दक्षिणको क्षेत्रदेखि मेक्सिकोको सीमासम्म ‘रेड फ्ल्याग’ चेतावनी जारी गरेको छ । “हामी अझै जोखिमबाट बाहिर छैनौं,” मौसम सेवाले चेतावनी दिएको छ ।
डढेलो रोक्नका लागि ७७,००० भन्दा बढी घरमा बिजुली कटौती गरिएको छ । यसबीच, माण्डेविल क्यानियनमा लुटपाट गर्नेहरू र आजुजामा आगजनी प्रयास गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएका छन् ।
विपद् क्षेत्रमा नबस्न आदेश जारी गरिएपछि करिब ९०००० मानिसले आफ्नो घर छाडेका छन् । कतिपयले भने लुटपाट रोक्न र आगलागीबाट आफ्नो घर सुरक्षित राख्न भन्दै घर छाड्न मानेका छैनन् ।
प्यासिफिक पालिसेड्स र पासाडेनाको नजिकका क्षेत्रमा प्रमुख आगलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको भए पनि जनधनको क्षति र हराइरहेका व्यक्तिहरूको संख्या बढ्ने सम्भावना रहेको छ । लस एन्जलसका मेयर करेन बासले स्थिति थप गम्भीर हुन सक्ने बताउँदै सबैलाई उच्च सतर्क रहन आग्रह गरेकी छन् ।
डढेलोको संकटका कारण हलिउडका पुरस्कार कार्यक्रमहरू र अन्य सांस्कृतिक गतिविधिहरू स्थगित गरिएका छन् । अग्निनियन्त्रकहरूलाई स्थानीय, राष्ट्रिय, क्यानाडा र मेक्सिकोबाट थप सहयोग मिलिरहेको छ । उजाडिएको क्षेत्रको पुनःस्थापना र थप क्षति रोक्न निरन्तर प्रयास भइरहेको छ ।