बुटवलकाे सुप्रिम सहकारीको रकम अपचलनमा पनि रवि लामिछाने र छविलाल जोशीसहितबिरूद्ध मुद्दा दर्ता भएकाे छ । सुरु मुद्दाका २८ बिरूद्ध मुद्दा परेकाेमा अहिले १४ जना थपेर ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता गरिएकाे हाे ।
रवि, छवि र लक्ष्मी पौडेलसहितलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको पूरक अभियोजन आइतबार दर्ता भएको छ । त्यस्तै यसअघि नै दर्ता भएका २८ जनामध्ये १७ जनालाई थप कसुर र थप बिगो माग गरिएको मुद्दा पनि दर्ता भएको छ ।
जिल्ला अदालत रूपन्देहीका अनुसार रवि, छविसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको बताए । जीबी राईसँग ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ । सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संचालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबार नै अदालतमा लगेको थियो । रवि लामिछानेसहितको पुरक अभियोजन आइतबार मात्र अदालत पठाएको थियो । थप अभियोगको फाइल बिहीवारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पुरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो । यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै दुवै मुद्दा दर्ता गरेको थिएन ।
यसअघि रूपन्देही अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी २०८१ वैशाख ३ गते सुरु मुद्दा दर्ता भएको थियो । बिहीबार सरकारी वकिल कार्यालयले सुरु मुद्दामा २८ जना प्रतिवादीबाट १ अर्ब ३ करोड बिगो माग गरेको थियो । तर, अहिले सरकारी वकिल कार्यालयले रवि र छविलाई १० करोड १९ लाख ३६ हजार रुपैयाँ, गितेन्द्रबाबु राईलाई ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँसहित सबैलाई छुट्टाछुट्टै बिगो दाबी गरेको छ ।
सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरीका आधारमा प्रहरीले पुरक अनुन्धान गरी पुरक अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानले देखाएको छ ।