अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरू भएसँगै महत्वपूर्ण कार्यकारी आदेशहरू जारी गरेका छन् । यी आदेशहरूले ट्रम्पको मुख्य चुनावी वाचाहरूलाई शीघ्र कार्यान्वयन गर्ने संकेत दिएको छ । केही आदेश तुरुन्त प्रभावमा जाने भए पनि, कानूनी र कूटनीतिक अवरोधका कारण धेरैमा केहीको कार्यान्वयनमा ढिलाइ हुनसक्ने अनुमान गरिएको छ ।
ड्रग कार्टेललाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गर्ने प्रयास: ट्रम्पले ड्रग कार्टेललाई ‘विदेशी आतंकवादी संगठन’को रूपमा घोषणा गर्ने आदेश जारी गरेका छन् । तर यसले अमेरिकी नागरिक र व्यवसायहरूलाई कार्टेलसँग कुनै सम्बन्ध भएकोमा कानूनी चुनौतीहरूको सामना गराउन सक्ने सम्भावना छ । यस आदेशले अमेरिकी सीमा सुरक्षा सुदृढ गर्न कानूनी साधनहरू प्रदान गर्नेछ, तर यो कदमले मेक्सिकोसँगको सम्बन्ध तनावपूर्ण बनाउने जोखिम छ ।
पेरिस जलवायु सम्झौताबाट अमेरिका फिर्ता: पेरिस जलवायु सम्झौताबाट फिर्ता हुने ट्रम्पको आदेश तुरुन्त कार्यान्वयन गरिने बताइएको छ ।सम्झौताबाट पूर्ण रूपमा फिर्ता हुन कम्तीमा एक वर्ष लाग्नेछ । यसले अमेरिका र विश्वव्यापी वातावरणीय सुधारमा विश्वास घटाउनेछ ।
जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास: ट्रम्पको आदेशले अवैध आप्रवासीका बच्चाहरूलाई अमेरिकी नागरिकता नदिने प्रस्ताव गरेको छ । यो आदेश अमेरिकी संविधानको १४औं संशोधनविरुद्ध भएकोले अदालतमा चुनौती दिइनेछ । आदेश कार्यान्वयन भएमा, ठूलो मात्रामा निर्वासन हुनसक्नेछ ।
विश्व स्वास्थ्य संगठनबाट फिर्ता : ट्रम्पले डब्लुएचवोबाट अमेरिका फिर्ता हुने आदेश जारी गरेको छ । फिर्ताको प्रक्रिया २०२६ भन्दा पहिले पूरा हुने सम्भावना छैन । यसले डब्लुएचवोको कोषलाई ठूलो क्षति पुर्याउने र स्वास्थ्य संकटमा अमेरिकाको सहकार्य घटाउनेछ ।
‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन: ट्रम्पले ‘गल्फ अफ मेक्सिको’लाई ‘गल्फ अफ अमेरिका’ नाम दिन आदेश दिएका छन् । अन्तर्राष्ट्रिय समुदाय र मेक्सिकोले यो परिवर्तनलाई मान्यता नदिने सम्भावना छ । यस नाम परिवर्तनले कूटनीतिक तनाव बढाउन सक्छ ।
पुरूष र महिला मात्र मान्यता दिने आदेश: संघीय नीतिहरूमा लिङ्ग पहिचानलाई हटाई दुई जैविक लिङ्ग मात्र मान्यता दिने प्रस्ताव गरिएको छ ।यसले एलबीजीटीक्युप्लस समुदायका अधिकारसम्बन्धी मुद्दाहरूमा कानूनी चुनौतीहरू निम्त्याउन सक्छ । यसले कागजात, पासपोर्ट, र सार्वजनिक सेवाहरूमा लिङ्ग आधारित भेदभावको सम्भावना बढ्नसक्छ ।
यी आदेशहरू ट्रम्प प्रशासनका लागि महत्वाकांक्षी प्राथमिकताहरूको रूपमा प्रस्तुत भए तापनि, तिनीहरूको कार्यान्वयनमा राजनीतिक, कानूनी र कूटनीतिक चुनौतीहरूको सामना गर्नुपर्ने निश्चित देखिन्छ ।