अमेरिकी न्याय विभागले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक अभियोजनमा संलग्न दर्जनभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । यस निर्णयले ट्रम्प प्रशासनले आफूविरुद्ध छानबिन गर्ने कानूनी टोलीलाई कारबाही गर्ने संकेत दिएको छ ।
न्याय विभागका अनुसार, विशेष वकिल ज्याक स्मिथको टोलीमा कार्यरत अधिकांश व्यवसायिक अभियोजनकर्ताहरूलाई अचानक पदमुक्त गरिएको हो । यो कदम ट्रम्प प्रशासनको सरकारबाट असहयोगी कर्मचारीहरूलाई हटाउने प्रयास अनुरुप भएको बताइएको छ । परम्परागत रूपमा, संवेदनशील अनुसन्धानमा संलग्न सरकारी वकिलहरू नयाँ प्रशासन आए पनि निरन्तर सेवा गर्ने गर्छन्, तर यस पटक ती अधिकारीहरूलाई एकैचोटि हटाइएको छ ।
एपीका अनुसार न्याय विभागका एक अधिकारीले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज, कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले राष्ट्रपति ट्रम्पको अभियोजनमा संलग्न विभिन्न अधिकारीहरूको पदमुक्ति गरेका छन् । यी अधिकारीहरूमाथि अब राष्ट्रपति ट्रम्पको एजेन्डा इमानदारीपूर्वक कार्यान्वयन गर्ने विश्वास रहँदैन ।” वक्तव्यमा निर्णय सरकारको दुरुपयोग रोक्ने उद्देश्य अनुरूप यसो गरिएको उल्लेख छ ।
हाल कुन अधिकारीहरू बर्खास्त भएका छन् भन्ने स्पष्ट छैन, तर ट्रम्प प्रशासनको यो निर्णय आपराधिक अनुसन्धानका क्रममा संलग्न अधिकारीहरूलाई लक्षित गरिएको देखिन्छ । यसअघि ट्रम्प प्रशासनले फेडरल ब्यूरो अफ इन्भेस्टिगेसनका निर्देशक क्रिस्टोफर रे हटाएर आफ्ना नजिकका सहयोगी काश पटेललाई नियुक्त गरिसकेको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नै न्याय विभागलाई प्रभाव पार्ने प्रयास गरेका थिए । उनले बारम्बार आफूविरुद्धको अनुसन्धानलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्दै आएका छन् । यसै सन्दर्भमा, राष्ट्रपति पद सम्हालेको पहिलो दिनमै उनले जनवरी ६ क्यापिटल हमलामा संलग्न १,५०० भन्दा बढी समर्थकहरूलाई क्षमादान दिएका थिए ।
यसअघि, विशेष वकिल ज्याक स्मिथले ट्रम्पविरुद्ध दुई प्रमुख मुद्दामा अनुसन्धान गरेका थिए । सन् २०२० को चुनाव उल्ट्याउने प्रयास र फ्लोरिडास्थित मार-ए-लागो निवासमा गोप्य कागजातहरू राखिएको विषय । यद्यपि, ट्रम्पले नोभेम्बरको निर्वाचन जितेसँगै न्याय विभागले यी मुद्दाहरू फिर्ता लिइसकेको छ ।
राष्ट्रपति ट्रम्पद्वारा नियुक्त नयाँ महान्यायाधिवक्ता पाम बोन्डीले हालैको संसदीय सुनुवाइमा आफूले न्याय विभागलाई राजनीतिकरण नगर्ने बताएकी थिइन् । तर उनले ट्रम्पविरुद्ध छानबिन गर्ने पूर्व अधिकारीहरूलाई कारबाही गरेर आफ्नै भनाईलाई उल्ट्याउने संकेत दिएकी छन् ।
विशेष वकिल स्मिथले यसै महिना न्याय विभागबाट राजीनामा दिएका थिए । उनले ट्रम्पविरुद्धका मुद्दाहरू समेटिएको दुई खण्डको प्रतिवेदन पेस गरेपछि राजीनामा दिएका हुन् । सोही समयमा, ट्रम्पविरुद्धको वर्गीकृत कागजात मुद्दाका प्रमुख अभियोजनकर्ता जे ब्राटले पनि अवकाश लिएका थिए ।
न्याय विभागमा देखिएको यो उथलपुथलले ट्रम्प प्रशासनले सरकारी निकायहरूमा आफ्ना समर्थकहरूलाई नियुक्त गर्ने र विपक्षी मानिएका अधिकारीहरूलाई निष्कासन गर्ने रणनीति अगाडि बढाइरहेको प्रस्ट संकेत दिएको छ ।