१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

अपराधिक उपद्रवको आरोप लागेकी आशिका तामाङ २० हजार धरौटीमा रिहा



अपराधिक उपद्रव कार्यको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत, भक्तपुरले आदेश दिएको छ । यसअघि अभद्र व्यवहारको आरोपमा पक्राउ परेका तामाङलाई दश हजार धरौटीमा छाडे लगतै उपद्रवकको आरोपमा पक्राउ गरिएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा थुनछेक बयान र बहस पछि धरौटीमा छाडिएको हो ।

आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा थिइन् । उनले केही समयअघि भक्तपुरस्थित साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो ।

यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन् । रिहा भएलगतै भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेको भन्दै पक्राउ गरी भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

जर्मनीमा बस्दै आएकी आशिका केही समयदेखि नेपालमा छिन् र उनले विभिन्न किसिमका अव्यस्थाका बिरुद्ध भन्दै आवाज उठाउँदै आएकी छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ०८ बजे