वाशिङ्टन डीसीको रोन्ल्ड रेगन विमानस्थलनजिकै एउटा यात्रुबाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घट्नामा ६७ जनाको ज्यान गएको विश्वास गरिएको छ ।
बुधबार साँझ भएको यस दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन, तर अनुसन्धान जारी छ । अमेरिकी एयरलाइन्सको विमानमा रहेको उडान डेटा रेकर्डर (ब्ल्याक बक्स) फेला पारिएको छ । दुर्घटनापछि विमान पोटोम्याक नदीमा खसेको थियो, जहाँ खोजी कार्य भइरहेको छ ।
विचिटा, क्यान्ससबाट उडेको अमेरिकन एयरलाइन्सको विमान बम्बार्डियर सीआरजे७०० को फ्लाइट ५३४२ र भर्जिनियाबाट उडेको अमेरिकी सेनाको हेलिकप्टर सिकोर्स्की यूएच६० ब्ल्याक हक फोर्ट बेलभोइर डीसी नजिकै ठोक्किंदा दुर्घट्ना भएको हो ।
बीबीसीका अनुसार विमान र हेलिकप्टर ठोक्किनुअघि, विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले हेलिकप्टरलाई विमानबारे चेतावनी दिएको अडियो सार्वजनिक भएको छ । हेलिकप्टर चालकले विमान देखेको जानकारी दिए पनि केही क्षणमै दुर्घटना भएको थियो । प्रारम्भिक अध्ययनले हेलिकप्टर निर्धारित उचाइभन्दा माथि उडिरहेको देखाएको छ ।
दुर्घटनापछि यात्रुबाहक विमान टुक्राटुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो, हेलिकप्टर नदीमै उल्टो अवस्थामा खसेको थियो । उद्धारका लागि सयौं सुरक्षाकर्मी र गोताखोर परिचालित भए पनि नदीमा चिसो हिउँ परेको र विमानका भग्नावशेषहरूले खोजी कार्य कठिन बनाएको उद्धारकर्ताहरूले जनाएका छन् ।
प्रारम्भिक खोजी कार्यपछि जीवित उद्धार सम्भव नरहेको निष्कर्ष निकाल्दै अधिकारीहरूले अहिले शव संकलनमा ध्यान दिइरहेका छन् । हालसम्म २८ शव फेला परिसकेको छ ।
विमानमा ६० यात्रु र चार चालकदलका सदस्यहरू सवार थिए । तिनीहरूमध्ये बोस्टनको एक फिगर स्केटिङ क्लबका प्रशिक्षक, दुई रुसी कोच, तथा दुई किशोर खेलाडी आमा-छोरीसहित यात्रामा थिए । विमानका कप्तान जोनाथन क्याम्पोसको परिवारका अनुसार, उडान उनको जीवनभरको सपना थियो । हेलिकप्टरका चालक दल प्रमुख रेयान ओ’हारा रहेको पुष्टि भएको छ ।
अमेरिकी यातायात सुरक्षा बोर्डले अनुसन्धान गरिरहेको छ । अधिकारीहरूले ब्ल्याक बक्स प्राप्त गरेका छन्, जसबाट पाइलटहरुको संवाद र उडान डेटा विश्लेषण गरिनेछ । प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिने बताइएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार दुर्घटनाको समयमा एयर ट्राफिक कन्ट्रोलमा मात्र एक जना कर्मचारी खटिएका थिए, जुन असामान्य मानिन्छ । साथै, दुर्घटनाभन्दा २४ घण्टाअघि पनि अर्को विमान उडानमार्गमा हेलिकप्टर नजिक पुगेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई लिएर शोक व्यक्त गरेका छन् । साथै उनले हवाई यातायात नियमनको विगतका नीतिहरूलाई दोष लगाउँदै अघिल्लो सरकारको विविधता नीतिका कारण एयर ट्राफिक कन्ट्रोलको गुणस्तर खस्किएको दाबी गरेका छन् ।
अमेरिकामा ठूला विमान दुर्घटना दुर्लभ मानिन्छ । सन् २००९ पछि यस्तो ठूलो दुर्घटना पहिलो पटक भएको हो । वाशिङ्टन डीसीको हवाई क्षेत्र व्यस्त र उच्च सुरक्षा निगरानीमा रहन्छ । यहाँ व्यावसायिक उडानहरू मात्र नभई राष्ट्रपतिको उडान, सैन्य हेलिकप्टर, तथा पेण्टागनसँग सम्बन्धित अन्य उडानहरू पनि नियमित सञ्चालनमा रहन्छन् ।