१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

मुक्कुमलुङ संरक्षण अभियन्ताहरूद्वारा ग्लोबल आइएमइ बैंकका शाखा बन्द गर्ने चेतावनी



मुक्कुमलुङ संरक्षण अभियन्ताहरूले ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा पाथीभरा दर्शन केबलकार प्रा.लि.का सञ्चालक चन्द्र ढकालविरुद्ध मुक्कुमलुङमा चरम मानव अधिकार हनन र सांस्कृतिक धरोहरको विनाशको आरोप लगाउँदै बैंकका शाखाहरू बन्द गर्ने चेतावनीसहित अल्टीमेटम जारी गरेका छन् ।

गत महिना, पाथीभरा दर्शन केबलकार प्रा.लि.ले मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको काम सुरु गरेको थियो । स्थानीय समुदाय र संरक्षण अभियन्ताहरूले यो परियोजनाले मुक्कुमलुङको सांस्कृतिक पवित्रता नष्ट गर्ने, प्राकृतिक सम्पदामा क्षति पुर्‍याउने र आदिवासी हकअधिकार उल्लंघन गर्ने भन्दै विरोध जनाउँदै आएका छन् ।

तर, उक्त विरोधको बावजुद केबलकार निर्माण अगाडि बढाइएपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सुरक्षा बलको प्रयोग गरी जबरजस्ती निर्माण कार्य थालिएको अभियन्ताहरूको आरोप छ ।

गत हप्ता मुक्कुमलुङमा भएको आन्दोलनका क्रममा सुरक्षा बलले संरक्षण अभियन्ताहरूलाई लक्षित गर्दै गोली प्रहार गरेको, कुटपिट गरेको र जबरजस्ती गिरफ्तार गरेको बताइएको छ। यस क्रममा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गोली लागि घाइते भएका छन् । यामबहादुर, धर्मान र सगुन लावतीको अबस्था गम्भिर रहेको छ । 

यस घटनापछि स्थानीय समुदाय र आदिवासी संघ-संस्थाहरूले यसलाई मानव अधिकारको चरम उल्लंघन भन्दै चन्द्र ढकालविरुद्ध कारबाहीको माग गरेका छन् ।

मुक्कुमलुङ ताःङसेप चुम्भोका संस्थाहरूले मुक्कुमलुङमा भइरहेको केबलकार निर्माण तुरुन्त रोक्नुपर्ने, निर्माण सामग्रीहरू फिर्ता लैजानुपर्ने, सैन्य हस्तक्षेप फिर्ता गर्न चन्द्र ढकालले जिम्मा लिनुपर्ने, झुट्टा मुद्दामा थुनिएका अभियन्ताहरू प्रदीप मादेन, चन्द्र सागर लिम्बू र लक्ष्मण लिम्बूलाई तत्काल रिहा गर्नुपर्ने, गोली लागेर जीवनभर अपाङ्ग भएका घाइतेहरूलाई आजीवन क्षतिपूर्ति प्रदान गर्नुपर्ने माग राखेका छन् । 

संघर्ष समितिले २०८१ माघ १९ गतेभित्र मागहरू पूरा नभए २० माघदेखि ग्लोबल आइएमइ बैंकका शाखा कार्यालयहरू बन्द गर्ने घोषणा गरेको छ । बन्द हुने शाखाहरूमा ताप्लेजुङ, तापेथोक, पाँचथर, इलाम, चारआली, विर्तामोड, इटहरी, धरान, धनकुटा, तेह्रथुम र संखुवासभा रहेका छन् ।

संघर्ष समितिले चन्द्र ढकालको प्रत्यक्ष संलग्नतामा मुक्कुमलुङमा मानव अधिकार हनन भएकाले उनले नै समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

यस अल्टीमेटम पत्रमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री प्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङका संयोजक प्रेम येक्तेन, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहका संयोजक नन्द कन्दङवा, किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिंह थेगिम र नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे शेर्पालगायतका नेताहरूले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : ४३ बजे