नेपालको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई २०२४) को नतिजाले नेपालमा अझै व्यापक रूपमा भ्रष्टाचार व्याप्त रहेको देखाएको छ । नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ, जसले नेपाललाई १८० मुलुकमध्ये १०७ औं स्थानमा पुर्याएको छ । २०२३ मा नेपाल ३५ अंकसहित १०८ औं स्थानमा थियो, जसले नेपालमा भ्रष्टाचार नियन्त्रणमा खासै सुधार नआएको देखाउँछ ।
मुख्य तथ्याङ्कहरू:
नेपालको सीपीआई २०२४ अंक: ३४ (१०० मा)
नेपालको स्थान: १०७ औं (१८० मुलुकमध्ये)
नेपालको सीपीआई २०२3 अंक: ३५ (१०८ औं स्थान)
दक्षिण एसियाली मुलुकहरूको सीपीआई २०२४ अंक:
भुटान: ७२
भारत: ३८
मालदिभ्स: ३८
नेपाल: ३४
श्रीलङ्का: ३२
पाकिस्तान: २७
बङ्गलादेश: २३
अफगानिस्तान: १७
चीन: ४३
विश्वव्यापी तथ्याङ्कहरू:
सबैभन्दा कम भ्रष्टाचार भएको देश: डेनमार्क (९० अंक, लगातार ७ वर्ष शीर्ष स्थानमा)
सबैभन्दा धेरै भ्रष्टाचार भएको देश: साउथ सुडान (८ अंक)
विश्वको औसत सीआइपी अंक: ४३ (गत वर्षकै जति)
नेपालका लागि भ्रष्टाचार नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सरकार र राजनीतिक नेतृत्वको भ्रष्टाचारविरोधी प्रतिबद्धता कमजोर रहेको र सरकारी क्षेत्रमा घुसखोरी रोक्न निष्पक्ष कारबाही आवश्यक भएको बताए । नेपालमा संघीयता लागू भएको ८ वर्ष पूरा भइसकेको छ, तर भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार आएको छैन। राजनीतिक प्रतिबद्धता, पारदर्शिता, प्रभावकारी कारबाही, तथा न्यायिक सुधार आवश्यक देखिन्छ।