९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

घर भाडामा लिएर तीन अर्ब बढीको अनलाइन सट्टेबाजी



काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर भारतीयहरुले अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गर्ने गरेको पाइएको छ । उक्त आरोपमा पक्राउ परेका २३ जना भारतीयले अवैध रुपमा ३ अर्ब बढीको कारोबार गरेको विवरण फेला पनि प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूले कारोबार गरिरहेको उक्त घरमा छापा मारेको थियो । आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा वकिल कुमार यादव, किशोरी प्रसाद यादव, रोहितकुमार यादव, मुन्नाकुमार यादव, बादलकुमार जैसवाल, रावलकुमार यादव, विपिनकुमार यादव, शंकर कुमार यादव, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, कुलबिन्दर सिंह, हर्ष जैसवाल, सुरज शाह, श्रेष्ठ गुप्ता, बिठ्ठु कुमार, सुनिल कुमार जैसवाल, मोहम्मद साहिद मालिक, सौरभ खरुवा, चन्दन यादव, श्याम कुमार, एस बालकृष्ण र सुरेन्द्र कुमार छन् ।

उनीहरूले उक्त घरमा एक वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी गर्दै आएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् । उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको छ ।

अनलाइन वेटिङ साइटमार्फत ठूलो मात्रामा रकम हारजित हुने गरी सट्टेबाजी खेल्ने खेलाउने कार्य गरेको एसपी बोहराले बताए । गेमिङ साइटको बारेमा एजेण्टहरूको सम्पर्क नम्बरसहितको विवरण राखेर फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा विज्ञापन राखी प्रचार-प्रसार गर्ने गरेको पाइएको छ ।

बरामद भएको नोटबुकको अध्ययन गर्दा प्रतिवादीहरूले ३ अर्ब १३ करोडभन्दा बढी नेपाली रकमको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ । उनीहरूको मोबाइलमा ८६ लाख ९१ हजार ९७१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबारसमेत भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका भारतीयका ८८ वटा मोबाइल, १० वटा ल्यापटप, भारतीय सिम ५०, भारतीय एटीएम, विभिन्न व्यक्तिको आधार कार्ड १५ थान र हिसाब-किताब विवरण भएको डायरी ७ वटा बरामद भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ३४ बजे