९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

ह्वाइट हाउसद्वारा एपीका पत्रकारलाई ओभल अफिस प्रवेशमा रोक



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एसोसिएटेड प्रेस (एपी) का एक पत्रकारलाई मंगलबार ओभल अफिस प्रवेश गर्न रोकेको छ। ह्वाइट हाउसले ‘गल्फ अफ मेक्सिको’ को नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ राख्ने ट्रम्पको आदेशअनुसार समाचार शैली परिवर्तन गर्न एपीलाई दबाब दिएको थियो ।

एपीले नाम नखुलाइएको सो पत्रकारलाई ओभल अफिसमा हुने कार्यक्रममा प्रवेश गर्न नदिएको हो । सोही दिन राति ह्वाइट हाउस डिप्लोम्याटिक कोठामा आयोजित अर्को कार्यक्रममा पनि दोस्रो एपी पत्रकारलाई प्रवेश निषेध गरिएको थियो ।

एपीका वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी सम्पादक जुली पेसले ह्वाइट हाउसको यो कदमलाई अस्वीकार्य भनेका छन् । “स्वतन्त्र पत्रकारिताका लागि प्रशासनले एपीलाई दण्डित गर्नु गम्भीर विषय हो,” उनले भनिन् । “हाम्रो रिपोर्टिङको आधारमा ओभल अफिस प्रवेशमा रोक लगाउनु प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन हो ।”

यस विषयमा ट्रम्प प्रशासनले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । तर, यसअघि नै प्रशासनले एपीलाई गल्फ अफ अमेरिकाको प्रयोग गर्न चेतावनी दिएको बताइएको छ ।

ट्रम्पले आफ्नो पुनः कार्यभार सम्हाल्नुअघि नै गल्फ अफ मेक्सिकोको नाम ‘गल्फ अफ अमेरिका’ राख्ने घोषणा गरेका थिए । उक्त निर्णय मेक्सिकोका राष्ट्रपतिले व्यंग्यात्मक प्रतिक्रिया दिँदै अस्वीकार गरेका थिए ।

एपीले ट्रम्पको आदेशलाई समाचारमा उल्लेख गरे पनि ‘गल्फ अफ मेक्सिको’ शब्दावलीलाई निरन्तर प्रयोग गरिरहने बताएको थियो । एपी स्टाइलबुक संसारभरका पत्रकारहरूद्वारा प्रयोग गरिने भएकाले स्थानको नाम विश्वव्यापी रूपमा चिनिने तरिकाले राखिनुपर्ने एपीको तर्क रहेको छ ।

पत्रकारिता स्वतन्त्रता प्रवर्द्धन गर्ने संस्था पेन अमेरिकाका टिम रिचार्डसनले ह्वाइट हाउसको यो निर्णय अमेरिकी संविधानको पहिलो संशोधन विपरीत रहेको बताएका छन् । ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनले पनि प्रशासनको कदमलाई अस्वीकार्य बताउँदै पत्रकारहरूमाथि दबाब नदिन आग्रह गरेको छ ।

यसैबीच, गुगल म्याप्सले आफ्नो नक्शामा ‘गल्फ अफ अमेरिका’ शब्द प्रयोग गर्न थालेको छ भने एप्पल म्याप्सले अझै ‘गल्फ अफ मेक्सिको’ प्रयोग गरिरहेको देखिन्छ ।

ट्रम्पले यसअघि अलास्काको माउन्ट डेनालीलाई फेरि माउन्ट म्याकिन्ले नाममा फर्काउने आदेश दिएका थिए । एपीले उक्त पहाड अमेरिकाभित्रै पर्ने भएकाले ट्रम्पको आदेशलाई मान्य गर्ने बताएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : २८ बजे