अमेरिकाको न्याय विभागले न्यूयोर्क सिटी मेयर इरिक एडम्स विरुद्धको भ्रष्टाचार मुद्दा अघि नबढाउने निर्णय गरेपछि तीन वरिष्ठ अभियोजकहरूले राजीनामा दिएका छन् । यस घटनाले राजनीतिक प्रभावको आरोपलाई बलियो बनाएको छ र मामलाको व्यवस्थापनमा अनियमितताको प्रश्न उठाएको छ।
एनपीआरका अनुसार राजीनामा दिनेमा ड्यानिएल आर. सासून, जोन केलर र केभिन ड्रिस्कोल छन् । सासून न्यूयोर्क दक्षिणी जिल्लाका कार्यकारी अमेरिकी अभियोजक हुन् । उनले गत बिहीबार राजीनामा दिएकी हुन् । एक अनुभवी अभियोजक सासून एक अनुभवीले एफटीएक्सका संस्थापक सैम ब्याङ्कम्यान-फ्राइडको मामलामा अभियोजन गरी सजाय सुनाएकी थिइन् । उनलाई गत महिना नै कार्यकारी अभियोजकको रूपमा नियुक्त गरिएको थियो । न्याय विभागले मेयर एडम्स विरुद्धको मामला छोड्ने निर्देशन दिएको तीन दिन पछि उनले राजीनामा दिएकी हुन् । त्यसैगरी जोन केलर न्याय विभागको सार्वजनिक सत्यनिष्ठा विभागका कार्यकारी प्रमुख र केभिन ड्रिस्कोल, फौजदारी विभागका वरिष्ठ अधिकारी हुन् ।
गत वर्ष मेयर इरिक एडम्स विरुद्ध भ्रष्टाचारको आरोपमा अभियोग लगाइएको थियो । उनलाई आफ्नो पदको दुरुपयोग गरी अवैद्य चुनावी चन्दा र विलासी यात्राका लागि टिकट लिएको आरोप लगाइएको थियो । यसको सुनुवाई अप्रिलमा हुने तय थियो, तर न्याय विभागले हालै उनी विरुद्धको मुद्दालाई अघि नबढाउने निर्णय गरेको थियो । एडम्सले भने सुरुदेखि आफुले कुनै अपराधिक कार्य नगरेको भन्दै आरोपको इन्कार गर्दै आएका छन् ।
मुद्दा अघि बनढाउने न्याय विभागको निर्णयको आलोचना भइरहेको छ । केहीले यसमा राजनीतिक प्रभावको भूमिका रहेको आरोप लगाएका छन् । मेयर एडम्सले ट्रम्प प्रशासनसँग अवैध आप्रवासी सम्बन्धी नीतिहरूमा सहकार्य गर्ने इच्छा जाहेर गरेकाले विभागले यस्तो निर्णय लिएको आशंका व्यक्त गरिएको छ । विभागका एक पूर्व वरिष्ठ अधिकारीले यस घटनालाई “अहिलेसम्मको सबैभन्दा खराब” तथा “आश्चर्यजनक र ठूलो आघात” भनेका छन् ।
सासूनको राजीनामा पछि, न्याय विभागका दोस्रो नम्बरका कार्यकारी अधिकारी इमिल बोभले यस मामलामा संलग्न दुई सहायक अमेरिकी अभियोजकका सम्बन्धमा उनीहरूको आचरणको अनुसन्धान गर्ने बताएका छन् । त्यसमध्ये एक जना अमेरिकी सेनाका दिग्गज, ब्रन्ज स्टार विजेता र हार्वर्ड ल स्कूलका स्नातक, पूर्वमा प्रमुख न्यायाधीश जोन रोबर्ट्सका लागि क्लर्क हेगन स्कटन रहेका छन् ।
राष्ट्रपति ट्रम्पले वाइट हाउसमा बोल्दै एडम्स विरुद्धको मामला छोड्ने निर्णयमा उनको व्यक्तिगत भूमिका नरहेको बताएका छन् । उनले भने, “मलाई यसको बारेमा केही थाहा छैन ।” तर, ट्रम्पले सासूनलाई निकालिएको बताए, जबकि बोभको पत्रमा उनको राजीनामा स्वीकार गरिएको उल्लेख छ ।
यस घटनाले न्याय विभागको स्वतन्त्रतामा प्रश्न उठेको छ र हाइ प्रोफाइल मामलाहरूमा राजनीतिक हस्तक्षेपको सम्भावनालाई बढाएको छ ।