९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

अमेरिकामा संघीय कर्मचारीहरूको सामूहिक निष्कासन: आक्रोश, अराजकता र अन्योल



संघीय सरकारले आक्रामक रूपमा कर्मचारी कटौती गर्ने निर्णय गरेपछि देशभरका सरकारी कर्मचारीहरू आक्रोश, अराजकता र अन्योलको सामना गरिरहेका छन् । ट्रम्प प्रशासनले संघीय प्रशासनको आकार घटाउने प्रयासस्वरूप प्रोबेसनरी (परीक्षणकालीन) कर्मचारीहरूलाई प्राथमिकतामा राखेर निष्कासन गर्न निर्देशन दिएको छ ।

समाचर संस्था एपीका अनुसार शुक्रबार विभिन्न संघीय निकायहरूले कर्मचारीहरूलाई निष्कासनको जानकारी गराएपछि मिशिगनदेखि फ्लोरिडासम्मका सरकारी कर्मचारीहरू अचम्ममा परेका छन् । प्रशासनले स्वेच्छिक रूपमा राजीनामा दिएबापत सेप्टेम्बर ३० सम्म पारिश्रमिक दिने घोषणा गरेको थियो । तर, कतिपयलाई निष्कासनको सूचना आइसकेको छ, जसले अन्य कर्मचारीहरूमा थप अन्योल बढाएको छ । संघीय सरकारको मानव संसाधन विभाग ‘अफिस अफ पर्सनेल म्यानेजमेन्ट’ (ओपीएम) ले केही कर्मचारीहरूलाई गल्तीले सूचना गएको स्वीकार गर्दै स्वेच्छिक राजीनामा दिने सहमति गरेका कर्मचारीहरूको सम्झौता कार्यान्वयन गरिने जनाएको छ ।

ओपीएमका अनुसार मार्च २०२४ सम्म २ लाख २० हजार कर्मचारीहरू प्रोबेसनरी अवधिमा रहेका थिए । सरकारी निकायहरूलाई आउँदो मंगलबार साँझ ८ बजेसम्म कर्मचारी निष्कासनको सूचना दिन निर्देशन दिइएको छ । प्रशासनको प्राथमिक चरणमा स्वेच्छिक राजीनामा कार्यक्रममार्फत ७५ हजार कर्मचारीले राजीनामा दिए पनि त्यसलाई अपुग मानेर कर्मचारी कटौती गरिएको हो ।

गएको बिहीबार मात्रै भूतपूर्व सैनिक मामिला विभाग (Department of Veterans Affairs) ले दुई वर्षभन्दा कम समयदेखि कार्यरत एक हजार भन्दा बढी कर्मचारीहरूलाई निष्कासन गरिसकेको छ । यसमा क्यान्सर उपचार, अफिमजन्य पदार्थको लत, कृत्रिम अंग प्रविधि तथा जलनसम्बन्धी अनुसन्धानमा संलग्न कर्मचारीहरू पनि परेका छन् । शिक्षा विभागबाट विशेष शिक्षा विशेषज्ञ तथा विद्यार्थी सहायता अधिकारीहरू हटाइएका छन् भने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का करिब १३ सय कर्मचारीहरू हटाउने निर्णय गरिएको छ ख।

कृषि सचिव ब्रुक रोलिन्सले प्रशासनको कर्मचारी कटौती प्रयासलाई खुलेर समर्थन गर्दै आफ्नै मन्त्रालयमा समेत छिट्टै कर्मचारी कटौती गरिने बताएकी छन् । संघीय कर्मचारीहरू तथा श्रमिक संगठनहरूले यस निर्णयको कडा आलोचना गरेका छन् । नेशनल ट्रेजरी इम्प्लोइज युनियन (एनटीइयू) सहित विभिन्न श्रमिक संघहरूले यस निर्णयलाई अवैध भन्दै मुद्दा दायर गरेका छन् । उनीहरूको भनाइ छ कि लामो समयको तालिम लिएका कर्मचारीहरूको सामूहिक निष्कासनले सरकारी सेवा तथा सञ्चालनलाई गम्भीर असर पुर्‍याउने छ ।

मिशिगनको भूतपूर्व सैनिक अस्पतालमा कार्यरत मरीन कोरका भूतपूर्व सैनिक एन्ड्रयू लेनोक्सले आफूलाई सूचना बिना नै निष्कासन गरिएको बताएका छन् । “पूर्व सैनिकहरूको सेवा गर्न काम गर्दै थिएँ, तर प्रशासनले उल्टै मलाई निकाल्यो,” उनले भने । उता फ्लोरिडामा ऊर्जा विभागमा कार्यरत डेभिड राइस, जो रेडिएसन जोखिमसम्बन्धी स्वास्थ्य मामिलामा संलग्न थिए, अचानक कामबाट निकालिएपछि उनी स्तब्ध भएका छन् । उनले नयाँ घर खरिद गरेका थिए, तर जागिर गुमेपछि उनी अन्योलमा परेका छन् ।

विश्लेषकहरूले यो कदमले संघीय बजेट घाटालाई खासै प्रभाव नपार्ने बताउँदै आएका छन् । कंग्रेस बजेट अफिसका अनुसार संघीय सरकारले कर्मचारीहरूको पारिश्रमिकमा वार्षिक २७० अर्ब डलर खर्च गर्छ, जसको ६०% रक्षा, आन्तरिक सुरक्षा र भूतपूर्व सैनिक मामिलाका विभागमा जान्छ । सम्पूर्ण संघीय कर्मचारी हटाए पनि सरकारको वार्षिक घाटा १ ट्रिलियन डलरभन्दा बढी नै हुनेछ ।

यो निर्णयले अमेरिकी रोजगारी दरलाई समेत असर पार्ने अनुमान गरिएको छ । डिसेम्बर २०२० पछि पहिलो पटक संघीय रोजगारी वृद्धिदर ऋणात्मक हुने सम्भावना छ। यसले खासगरी सरकारी अनुदानमा निर्भर ठूला निजी कम्पनीहरूलाई समेत असर गर्नेछ ।

यसरी कटौतीको विरोधमा विपक्षी डेमोक्र्याट मात्र होइन, रिलब्लिकनहरु पनि देखिएका छन् । रिपब्लिकन सिनेटर लिसा मुर्कोव्स्कीले पनि प्रशासनको नीति गलत भएको भन्दै ट्वीटरमा लेखेकी छन्, “संघीय कर्मचारीहरूको अन्धाधुन्ध कटौतीले बजेट घाटा समाधान गर्दैन ।” निर्णयको व्यापक आलोचना भइरहे पनि प्रशासन भने आफ्नो योजना कार्यान्वयन गर्न अडिग देखिएको छ ।

यस कदमले लाखौं संघीय कर्मचारीहरूको भविष्य अन्योलमा पारेको छ भने देशभर विरोध प्रदर्शन चर्किको छ । अब प्रशासन यसमा कत्तिको लचिलो हुन्छ, त्यसले आगामी दिनमा अमेरिकी संघीय सेवाहरूको भविष्य निर्धारण गर्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : २७ बजे