भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको घट्नामा विश्वविद्यालय प्रशासनले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ ।
घटनाबारे निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न दुई वरिष्ठ छात्रावास अधिकारी र एक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरिएको हो ।
शंकास्पद मृत्यु र नेपाली विद्यार्थीको आक्रोश
बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन् । नेपाली विद्यार्थीहरूले उनको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । विद्यार्थीहरूका अनुसार भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले लम्सालमाथि बारम्बार दुर्व्यवहार गर्दै आएकाले उनी आत्महत्या गर्न बाध्य भएको आशंका गरिएको छ । लम्सालले श्रीवास्तवविरुद्ध प्रशासनमा उजुरी समेत दिएकी थिइन्, तर विश्वविद्यालयले उचित कारबाही नगरेको आरोप लगाइएको छ ।
लम्सालको मृत्युको खबर फैलिएपछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरूले निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग राखेका थिए । तर, प्रशासनले उनीहरूको माग सुन्नुको साटो सुरक्षा गार्ड र बाउन्सर प्रयोग गरेर दमन गरेको थियो । आइतबार राति उजुरी दिन गएका विद्यार्थीहरूमाथि सुनुवाइ गर्नुको सट्टा दमन गरिएको नेपाली विद्यार्थीहरूले बताएका छन् ।
प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई छात्रावास खाली गर्न निर्देशन दिएको थियो । विश्वविद्यालय प्रशासनको सूचनापछि एक हजारभन्दा बढी नेपाली विद्यार्थी प्रभावित भए । केही विद्यार्थी नेपाल फर्किसकेको जनाइएको छ भने झन्डै ५०० विद्यार्थीलाई भुवनेश्वर र कटक रेलवे स्टेसनमा पुर्याइएको थियो ।
नेपाली विद्यार्थीलाई जबर्जस्ती निष्कासन गरिएको घटनापछि नेपाल सरकारको ध्यानाकर्षण भएर नयाँदिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालय प्रशासनसँग संवाद गरी विद्यार्थीहरूलाई सुरक्षित रूपमा छात्रावासमा फर्कन दबाब दिएको थियो । विश्वविद्यालय प्रशासनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई छात्रावास फर्कन आग्रह गर्यो । नेपाली दूतावासले घटनाबारे गम्भीरता साथ छलफल गरिरहेको जनाएको छ ।
यसैबीच भारतीय सञ्चारमाध्यमले दिएको समाचार अनुसार आरोपित श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । घटनाबारे विस्तृत छानबिन भइरहेको जनाएको छ ।









