३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

सिन्धुपाल्चोकको विकट स्थानमा रहेको स्कूलमा पुस्तकालय निर्माण, दाताले गरे शैक्षिक सामाग्री वितरण



सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका-१ , च्याङगुर्सास्थित उक्त विद्यालयमा २४ फेब्रुअरी २०२५ का दिन एक सुविधा सम्पन्न पुस्तकालय उद्घाटन गरियो । पुस्तकालय न्युयोर्कबाट सञ्चालन हुदै आएकोको एभरेष्ट टाइम्स अनलाइन पत्रिका र मार्फा कग्यु धर्म संरक्षण केन्द्र काठमाडौंको सहयोगमा निर्माण भएको हो । पुस्तकालय निर्माणका लागि अमेरिकाको न्यूयोर्क निवासी साङ्दोर्जे शेर्पा र बायो कान्छा शेर्पाले आर्थिक सहयोग गरेको थियो भने स्थानीय रूपमा एभरेष्ट टाइम्स न्यूयोर्ककी  पासाङ छेल्हामो शेर्पाले संयोजन गरेकी थिइन् ।

विद्यालयको ४९ औं वार्षिकोत्सवको अवसरमा नगर उपप्रमुख मन्जु तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रममा पुस्तकालय परियोजना संयोजक पासाङ छेल्हामो शेर्पा, स्थानीय पुस्तकालय संयोजक दाऊ छिरी शेर्पा, वडाध्यक्ष आङ्गदोर्जे शेर्पा, विद्यालय व्यवस्थापन परिवार, शिक्षक शिक्षिका, अभिभावक र स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

पुस्तकालयसँगै मार्फा कग्यु धर्म संरक्षण केन्द्रले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई स्कूल ब्याग पनि वितरण गरेको थियो । विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रामा आवश्यक सामग्री प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले ती व्यागहरू वितरण गरिएका हुन् । यसैगरी, भूमेश्वरी विद्यालय पुस्तकालय उद्घाटनको अवसरमा लाइन्स क्लब अफ नेपाल शेर्पाजले कक्षा १ देखि ८ सम्मका विद्यार्थिहरूलाई १२०० थान कापी, १२०० थान कलम र १२०० थान पेन्सिल पनि उपलब्ध गराएको थियो ।  क्लबले पुस्तकालयमा ओछ्याउन कार्पेट ६ थान र स्टेशनरी सामग्री पनि सहयोग गरेको छ । यस पहलले भूमेश्वरी विद्यालयका विद्यार्थीहरूको अध्ययनस्थलको वातावरणलाई सुधार गर्ने बिश्वास गरिएको  छ। 

भूमेश्वरी आधारभूत विद्यालयमा हाल ७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो विद्यालय विकट क्षेत्रको एक महत्त्वपूर्ण शैक्षिक केन्द्रको रूपमा रहेको छ। विद्यालयको प्रधानाध्यापक साङ्गे शेर्पाले पुस्तकालयमा धार्मिक ग्रन्थ, विज्ञान, कृषि, सीपमुलक जानकारी, सफल व्यक्त्तित्त्वका आत्मकथा, शिक्षा लगायतका विभिन्न विषयका पुस्तकहरू राखिएको जानकारी दिए । 

पुस्तकालय निर्माणको प्रमुख संयोजक पासाङ छेल्हामो शेर्पाका अनुसार यस विकट स्थानमा शैक्षिक परियोजना एकदम आवश्यक रहेको छ, जहाँ विद्यार्थीहरूले शिक्षाको पहुँच पाउन निकै गाह्रो छ । नेपालको विकट र ग्रामीण क्षेत्रहरूमा शिक्षा र सिकाइको अवसरहरू सीमित छन्, जसले गर्दा विद्यार्थीहरूको भविष्यको विकासमा ठूलो प्रभाव पर्छ । पुस्तकालय जस्ता शैक्षिक संसाधनहरूको स्थापनाले विद्यार्थीहरूलाई बाह्य ज्ञान र सूचना प्राप्त गर्न अवसर प्रदान गर्ने, उनीहरूको सोच र दृषटिकोणलाई फराकिलो बनाउने बताइएको छ । 

यस महत्त्वपूर्ण कार्यमा स्थानीय समाजसेवी दाऊ छिरी शेर्पाले विद्यालय र सहयोग दाताहरूबीच समन्वय सेतुको काम गरेका थिए । उहाँकै समन्वयले पुस्तकालय निर्माणमा सफल भएको बताइएको छ । सामुदायिक विद्यालयमा पुस्तकालय जस्ता पूर्वाधार निर्माण गर्ने सरकारी नीति भए पनि भौगोलिक विकटताका कारण राज्यको सहयोग सहज नहुँद स्थानीय तह, गैरसरकारी संस्था र समाजसेवीहरूको निरन्तर प्रयासले पुस्तकालय स्थापना सम्भव भएको हो ।  

वडाध्यक्ष आङ्दोर्जे शेर्पाले विद्यालयमा पुस्तकालय स्थापनासँगै झोला, कार्पेट, स्टेशनरी सामग्रीको उपलब्धताले विद्यार्थीहरूको अध्ययन वातावरण सहज बनाएको बताए । विद्यालयका प्रधानाध्यापक साङ्गे शेर्पाले पुस्तकालय स्थापना मात्र नभई विद्यालयमा पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न उपायहरू अपनाइएको बताए । 

विद्यालयले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट जिपिए हासिल गर्ने बालकक्षा देखि कक्षा ८ सम्मका छात्रछात्रालाई पुरस्कार पनि वितरण गरेको छ । खेल सप्ताहका विभिन्न प्रतिस्पर्धामा विजयीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । 

नगर उपप्रमुख तामाङले विद्यालयले सिमित स्रोत साधनका बाबजुद पनि व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरूको सक्रियताले प्रभावकारी शैक्षिक वातावरण निर्माण गरेकोमा प्रशंसा व्यक्त गरिन् । पूर्वमा दोलखाको कालिञ्चोक, पश्चिम र उत्तरमा बाह्रबिसे नगरपालिका–२ तथा दक्षिणमा त्रिपुरासुन्दरी गाउँपालिका रहेको यो विद्यालय विकटताका बाबजुद शिक्षा सुधारको मार्गमा अघि बढ्न सफल भएको छ । समुदायको ऐक्यबद्धता, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको उत्साहले पुस्तकालय मात्र होइन, उज्ज्वल भविष्यको आधारशिला समेत तयार भएको छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ४६ बजे