३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

इन्जिनियर तेम्बा शेर्पा अध्यक्षतामा न्यूयोर्कस्थित शेर्पा किदुकको नयाँ कार्यसमिति चयन



अमेरिकाको न्यूयोर्कमा रहेका शेर्पा समुदायको धार्मिक तथा सांस्कृतिक हितमा समर्पित संस्था शेर्पा किदुकको हालै सम्पन्न अधिवेशनले इन्जिनियर तेम्बा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। उनी किदुगमा दोश्रो पटक अध्यक्षमा निर्विरोध निर्वाचित भएको हो ।

नवनिर्वाचित कार्यसमितिले समुदायको पहिचान, धर्म, संस्कृति तथा खेलकुदको प्रवर्द्धनमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाका साथै उपाध्यक्ष तथा खेल संयोजक पासाङ शेर्पा (पिनाशा), महासचिव ल्हाक्पा तेनजी शेर्पा (क्यामा गुम्देल), प्रवक्ता फारा डेन्डी (लामा) शेर्पा, कोषाध्यक्ष दोर्जे शेर्पा (गोली), सह-कोषाध्यक्ष श्री मिंगमार शेर्पा (फेरा), रिगसुङ (सांस्कृतिक केन्द्र) संयोजक श्री पेम्बा शेर्पा (भाकान्जे, सोलुखुम्बु), जनसम्पर्क संयोजक पासाङ सलाका (जिरी), धार्मिक संयोजक श्री ङवाङ जिम्पा शेर्पा र स्वयंसेवक संयोजक डेनी जी चयन गरिएका छन् । किदुको सचिव भने चयन हुन बाँकी रहेको छ ।

नयाँ नेतृत्वले शेर्पा समुदायको सांस्कृतिक तथा धार्मिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ । साथै, शेर्पा युवाहरूलाई खेलकुद तथा अन्य सिर्जनात्मक कार्यमा संलग्न गराउने कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।

शेर्पा किदुकले लामो समयदेखि न्यूयोर्कस्थित शेर्पा समुदायको एकता, सहयोग, धर्म-संस्कृति संरक्षण तथा सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १ : २७ बजे