नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको हो । साथै केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित आक्रमणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको पनि पार्टीका नेताहरुले बताएका छन् ।
‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ एमालेले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ ।
साथै एकालेले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणती भएको स्मरण गराएको छ ।
केही दिनयता राजवादीहरुको सक्रियता बढेको भन्दै दलहरुले बैठकहरु राखिरहेका छन् भने नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहबिरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन् ।









