अमेरिकाले विदेशी भूमिमा सैन्य हस्तक्षेप कहिले र कहाँ गर्ने भन्ने निर्णय अत्यन्त संवेदनशील विषय हो । यदि यस्तो सूचना अमेरिकी प्रतिस्पर्धी शक्तिहरूले अग्रिम रूपमा पाउने हो भने, त्यसले मानव जीवन र अमेरिकी वैदेशिक नीतिलाई नै जोखिममा पार्न सक्छ ।
डोनाल्ड ट्रम्प प्रशासनको लागि सौभाग्यको कुरा, यमनमा अमेरिकी हवाई आक्रमणबारे वरिष्ठ सुरक्षा अधिकारीहरूबीच भएका छलफलहरू संलग्न गरिएको ‘सिग्नल’ एपको समूहीकृत च्याट (ग्रुप च्याट) गलत हातमा परेन । तर दुर्भाग्यवश, सो वार्तालापलाई एक जना पत्रकार जेफ्री गोल्डबर्गले प्राप्त गरे ।
‘द एटलान्टिक’ पत्रिकाका प्रधान सम्पादक गोल्डबर्गका अनुसार उनलाई गल्तीवश ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले सो च्याट समूहमा थपेका थिए । समूहमा सहभागी अन्य उच्च अधिकारीहरूमा उपराष्ट्रपति जेडी भ्यान्स, सीआईए निर्देशक जोन र्याटक्लिफ, ह्वाइट हाउस प्रमुख सुसी वाइल्स र रक्षा मन्त्री पीट हेगसेथलगायत रहेका थिए ।
बीबीसीका अनुसार सो च्याट सन्देशहरू “सत्य रहेको” राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले पुष्टि गरेका छन् । गोल्डबर्गका अनुसार, उक्त समूहमा नीति सम्बन्धी बहस मात्र नभई सैन्य कारबाहीका सविस्तार छलफलहरू भएका थिए । यसले अमेरिकी प्रशासनको गोपनीय निर्णय प्रक्रियामा दुर्लभ झलक प्रस्तुत गर्यो ।
१५ मार्चमा यमनका हुथी लडाकूमाथि अमेरिकी आक्रमण सम्पन्न भएपछि वाल्ट्जले समूहमा “अद्भुत काम” भन्दै अमेरिकी झण्डा, आगो र मुठ्ठी उचाल्ने इमोजी पठाएका थिए । अन्य अधिकारीहरूले समेत विजयको खुसी साटासाट गरेका थिए ।
तर सोमबार सार्वजनिक भएका यी खुलासाहरूले सुरक्षा प्रशासनलाई ठूलो झट्का दिएको छ । संवेदनशील सैन्य छलफलहरू सरकारी सुरक्षात्मक प्रणालीबाहिर सञ्चालित हुनु गम्भीर सुरक्षा उल्लङ्घन मानिन्छ, जसले ‘गुप्तचर ऐन’को समेत उल्लङ्घन हुन सक्ने कानुनी विज्ञहरू बताउँछन् ।
अमेरिकी सिनेटमा खुफिया समितिका बरिष्ठ डेमोक्रेट सिनेटर मार्क वार्नरले भनेका छन्, “यो प्रशासन राष्ट्रका गोप्य सूचनाहरूसँग खेलबाड गरिरहेको छ, जसले अमेरिकीहरूलाई असुरक्षित बनाउँछ ।”
सदनको सशस्त्र सेवा समितिमा रहेका डेमोक्रेट सांसद क्रिस डेलुजियोले तत्काल अनुसन्धान हुनुपर्ने माग गरेका छन् । उनले भनेका छन्, “यो अकल्पनीय राष्ट्रिय सुरक्षा उल्लङ्घन हो । दोषीहरूलाई कारबाही हुनुपर्छ ।”
यही विषयमा रिपब्लिकन सांसद डन बेकनले ‘एक्सिओस’ समाचार संस्थालाई “यसरी असुरक्षित प्रणालीबाट गोप्य जानकारी पठाउनु अक्षम्य अपराध भनेका छन् । चीन र रूसले यस्ता अनक्लासिफाइड सन्देशहरू निश्चित रूपमा निगरानी गरिरहेका हुन्छन् ।
च्याट सन्देशहरूमा उपराष्ट्रपति जेडी भ्यान्सले अमेरिकी आक्रमणबारे असहमति जनाएका थिए । उनका अनुसार, हुथी लडाकूहरू अमेरिकी व्यापारभन्दा बढी युरोपेली व्यापारलाई असर गरिरहेका कारण सैन्य कारबाही ढिलो गर्न सकिने तर्क उनको थियो ।
“राष्ट्रपतिलाई युरोपसम्बन्धी उहाँकै सन्देशसँग यो कदम कसरी असंगत छ भन्ने कुरा थाहा छैन होला,” भ्यान्सले लेखेका थिए । तर उनले अन्ततः समूहको निर्णयलाई समर्थन गर्ने उल्लेख गर्दै भनेका छन्, “मैले यी चिन्ताहरू आफैंसँग राख्नेछु ।”
ट्रम्पले पत्रकारहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै आफूले यो विषयबारे पहिले नसुनेको बताएका छन् । ह्वाइट हाउसले पछि जारी गरेको विज्ञप्तिमा सैन्य कारबाहीको सफलता उल्लेख गरिएको छ, तर वाल्ट्जको संलग्नताबारे थप केही भनेको छैन । तर, वासिङ्टनमा वाल्ट्जको राजीनामाको चर्चा सुरु भएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, उच्च तहमा कारबाही हुन सक्ने सम्भावना छ ।
यस घटनाले ट्रम्प प्रशासनको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठाएको छ । हिलारी क्लिन्टनको इमेल प्रकरणदेखि ट्रम्प स्वयंविरुद्ध गोप्य कागजातहरू अनधिकृत रूपमा राखेको आरोपसम्म यसअघि अमेरिकामा उच्च पदस्थ अधिकारीहरूकै कमजोरीले राष्ट्रिय सुरक्षामा असर पार्ने गरेको देखिएको उदाहरणहरु हुन् ।









