विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा काठमाडौँलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन भएको छ ।
“लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन” भन्दै स्वस्फुर्त रुपमा युवाहरुले मंगलबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । उनीहरूले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले भ्रष्ट सरकार खारेज गरौँ, अवस्था बदल्न व्यवस्था बदलौँ, सिङ्गो नेपाल के भन्छ, कुलमान घिसिङले भन्छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार विरोध चर्का नारा लगाएका थिए ।
माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । युवाहरूको प्रदर्शनमा विभिन्न दलका नेताहरू पुगेर ऐकबद्धता जनाएका थिए ।
मंगलबार नै विहान विद्यार्थीहरुको एक समुहले विश्व भाषा क्याम्पसमा राँको बालेर जुलुस निकालेका थिए । उनीहरुले पनि कुलमानलाई हटाएकोमा विरोध गरेका थिए ।
त्यसैगरी बिराटनगर, हेटौंडा, दोलखालगायतका स्थानहरुमा पनि सरकारको कुलमान हटाउने निर्णयका विरुद्धमा विरोध प्रदर्शनहरु भएका थिए ।
सडकमा विरोध मात्र भइरहेको छैन । संसदको सार्वजनिक लेखा समितिमा पनि सांसदहरुले यस विषयमा चर्चा गरेका छन् । विपक्षी दलका सांसदहरुले सरकारले कुलमान हटाउन गरेको निर्णयको विरुद्धमा सरकारलाई पत्र लेख्नु पर्ने बताएपछि विवाद भएको थियो ।









