३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

रास्वपाले शनिबारदेखि ‘जनयात्रा’ अभियान चलाउने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ । चितवनबाट सुरु हुने यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको पार्टीले जनाएको छ।

रास्वपाले ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट सुरु गर्ने जनाएको छ । शनिबार दिउँसो २ बजेबाट सुरु हुने यात्राको सभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन बताइएको छ ।

सहकारी ठगीको अभियोग लागेपछि मुद्दाको छिनोफानो नहुँदै लामिछाने ६ महिनापछि सोमबार पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए । उनीबिरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा विचराधीन छ ।

रास्वपाका नेताहरुले अभियानलाई भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ । रास्वपाको केन्द्रीय समितिले गत चैत १८ गते ‘जनयात्रा’ लाई अनुमोदन गरेको थियो ।

गत सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले शनिबार चितवनमा आयोजित सभामा सरकार कसरी बन्यो र किन ढल्यो भन्ने रहस्य खुलासा गर्ने बताएका थिए । उनले हिरासतको ८४ दिनको अनुभव र सरकारको नियतबारे खुलस्त पार्ने पनि दाबी गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : ०३ बजे