९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

जहाँ राष्ट्रपति स्वेदशी ग्याङहरुसँग लड्न विदेशी सैनिक बोलाइरहेका छन्



दक्षिण अमेरिकी मुलुक इक्वेडरका राष्ट्रपति ड्यानिएल नोबोआले देशमा फैलिएको ग्याङहरुबिरुद्ध लड्नका लागि विदेशी सेनाको हयोग खोजेको धेरै भयो । उनले फेरी एक पटक अन्तर्राष्ट्रिय समुदायलाई उनको देशका ग्याङहरुसँग लड्नका लागि सैनिक पठाउन अपिल गरेका छन् ।

बीबीसीमा मंगलबार राति प्रकाशित अन्तर्वार्तामा फेरी नोबोआले अमेरिकी, युरोपेली र ब्राजिली सेनालाई आफ्नो “ग्याङविरुद्धको युद्ध” मा सामेल गराउन चाहेको बताएका छन् । उनले भनेका छन्, “अपराध समूहहरूसँग लड्न हामीलाई थप सशस्त्र बलको आवश्यकता छ ।”

यसअघि पनि इक्वेडरका राष्ट्रपतिको तर्फबाट अन्तर्राष्ट्रिय सेनालाई सहयोगका लागि आह्वान गरिएको थियो । यसै महिनाको सुरुमा एक स्थानीय रेडियोसँगको अन्तर्वार्तामा उनले ग्वायास जस्ता उच्च अपराध दर भएका प्रान्तहरूमा विदेशी सैनिक सहयोग प्राप्त गर्न “पहिल्यै वार्ता भइरहेको” बताएका थिए, तर कुन-कुन देशहरूसँग बार्ता गरिएको छ भन्ने खुलाएका थिएनन् ऽ

“हामीसँग हाम्रो प्रहरी निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सशस्त्र बल, रणनीतिक गुप्तचर केन्द्र र विशेष बलहरूको अन्तर्राष्ट्रिय सहयोगसहितको योजना छ । यो अत्यावश्यक हो,” उनले ग्वायाक्विलको रेडियो सिटीलाई बताएका थिए ।

इक्वेडरमा ग्याङ हिंसाका तरंगहरू फैलिएका छन्, जुन प्रायः लागूपदार्थ व्यापारसँग जोडिएको मानिन्छ। यसले सरकारलाई असाधारण कदमहरू चाल्न बाध्य बनाएको छ, जसमध्ये गत वर्ष गरिएको देशव्यापी कारबाही, ग्याङसँग लड्न आपतकालीन अवस्थाहरू घोषणा गरिएको थियो ।

सरकारी तथ्यांकअनुसार, यो वर्षको सुरुवातमै धेरै हिंसात्मक घटनाहरू भएका छन् । एक हजारभन्दा बढीको हत्या भएको छ भने अपराध अनुसन्धान संस्थाका अनुसार, इक्वेडर अहिले दक्षिण अमेरिकाको सबैभन्दा धेरै हत्या दर भएको देश हो ।

यसै महिनाको सुरुवातमा नोबोआले विवादास्पद सैन्य कदमको अर्को अध्यायको घोषणा गरेका थिए । उनले कुख्यात निजी सैन्य कम्पनी ब्ल्याकवाटरका संस्थापक एरिक प्रिन्ससँग “रणनीतिक साझेदारी” को घोषणा गरेका थिए ।

यो साझेदारीको विस्तृत विवरण नोबोआले दिएका छैनन्, तर एक्समा उनले भनेका छन् कि यो साझेदारी इक्वेडरमा लागूपदार्थ आतंकवादविरुद्ध लड्न सहयोग पुर्‍याउने उद्देश्यले गरिएको हो । यो कदमको इक्वेडरभित्र आलोचना भइरहेको छ । पूर्वसेनापति लुइस आल्टामिरानोले उक्त सम्भावित साझेदारीलाई “लज्जास्पद” भनेका छन् ।

सन् २००७ मा इराक युद्धको बेला ब्ल्याकवाटर चर्चित बनेको थियो । बग्दादको निसुर स्क्वायरमा तिनका निजी सैनिकहरूले गोली चलाएर १७ जना इराकी नागरिकको हत्या गरेका थिए । त्यसपछिका वर्षहरूमा कम्पनीले नाम परिवर्तन गर्‍यो र सन् २०१० मा त्यसको मालिकले कम्पनी बेचे । ती घटनामा संलग्न चार जना सुरक्षाकर्मीहरूलाई सजाय सुनाइएको थियो, तर पछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका थिए ।

नोबोआको ग्याङविरुद्धको कडा रणनीति आगामी महिना हुन लागेको राष्ट्रपति चुनावको दोस्रो चरणको तयारीसँगै आएको हो । नोबोआले पछिल्लो आम निर्वाचनमा स्पष्ट बहुमत ल्याउन सकेनन्, त्यसैले उनी अपराधविरुद्धको अभियानलाई अझ तीव्र बनाउँदै छन् । मानवअधिकार समूहहरूले भने यसको आलोचना गरेका छन् र उनका विपक्षी उम्मेदवार लुइसा गोनजालेजले उनी “डरको राजनीतिका प्रतिनिधि” भएको आरोप लगाएकी छन् ।

नोबोआले देशका धेरै गिरोहहरूलाई “आतंकवादी समूह” घोषणा गरिसकेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यही गर्न आग्रह गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ देखि इक्वेडरलाई संगठित अपराध र लागूपदार्थविरुद्धको लडाइँमा सहयोगस्वरूप ८१ मिलियन अमेरिकी डलर दिएको छ । दुवै देशबीच एउटा सहमति पनि छ जसअनुसार आवश्यक परे अमेरिकी सैनिक र नागरिक कर्मचारीहरूलाई इक्वेडर पठाइए पनि तिनीहरू अमेरिकी नियन्त्रणमै रहनेछन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १२ : ०२ बजे