ल्हाक्पा गेलु शेर्पा
न्युयोर्क, क्विन्स
न्युयोर्कस्थित डृक्पा युएसए (Drukpa USA) को गुम्बामा परम पुज्यनीय ग्याल्वा दोखाम्पा रिन्पोछेको प्रमुख आतिथ्यमा विशेष दुकर अभिषेक तथा बौद्ध प्रवचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त अवसरमा न्यूयोर्क, न्यू जर्सी लगायतका विभिन्न क्षेत्रहरूबाट नेपाली, भुटानी, तिब्बती लगायतका हिमाली समुदायका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ग्याल्वा दोखाम्पा रिन्पोछे डृक्पा काग्युद सम्प्रदायका नवौँ अवतारी रिन्पोछे हुनुहुन्छ, जसले लामो समयदेखि बुद्धधर्मको प्रचारप्रसारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तिकरण र आध्यात्मिक चेतनाको उन्नयनमा समेत सशक्त भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा सञ्चालित Live to Love नामक अन्तर्राष्ट्रिय संस्थामार्फत नेपाल, भारत, भुटान लगायतका देशहरूमा सामाजिक सेवा र करुणापूर्ण परियोजनाहरू निरन्तर सञ्चालन हुँदै आएका छन्।
उक्त कार्यक्रममा रिन्पोछेद्वारा बौद्ध धर्ममा अत्यन्त विशिष्ट र शक्तिशाली मानिने दुकर अभिषेक (हिमाली भाषामा दुकर देवी, संस्कृतमा सितातपत्रा – श्वेत छाता देवी) प्रदान गरिएको थियो। दुकर देवीलाई बुद्धको करुणामयी र रक्षात्मक स्वरूपका रूपमा चिनिन्छ। उहाँको अभिषेकले साधकलाई मानसिक, शारीरिक र आध्यात्मिक अवरोधहरूबाट सुरक्षा गर्ने विश्वास गरिन्छ। दुकर देवी २१ तारा देवीहरूमध्ये १९औँ स्वरूपको देवी हुनुहुन्छ। अभिषेकका क्रममा रिन्पोछेले पवित्र मन्त्र उच्चारण, ध्यान अभ्यास, देवीको भावना (visualization) र पवित्र जलद्वारा सहभागीहरूलाई दीक्षा प्रदान गर्नुभयो।

प्रवचन सत्रमा रिन्पोछेले बुद्धको मूल शिक्षाहरूका साथै चित्तशुद्धिको अभ्यासमाथि गहिरो व्याख्या गर्नुभयो। उहाँले आधुनिक जीवनशैलीले सिर्जना गरेका तनाव, लोभ, मोह र क्रोध जस्ता विकारहरूको समाधान ध्यान र अनुससानमार्फत सम्भव छ भन्ने विषयमा विशेष जोड दिनुभयो। रिन्पोछेले भन्नुभयो, “धर्म केवल पूजा वा परम्परा होइन, यो चित्तको रूपान्तरण र व्यवहारमा करुणा प्रकट गर्ने मार्ग हो।”
उक्त कार्यक्रमले न्युयोर्कमा बसोबास गरिरहेका हिमाली समुदायहरूबीच धार्मिक आस्था, आपसी एकता र बौद्ध परम्पराको संरक्षणप्रति थप प्रेरणा जगाएको सहभागीहरूको धारणा थियो। यस्ता आध्यात्मिक कार्यक्रमहरूले प्रवासमा रहेर पनि मौलिक संस्कृति र आन्तरिक चेतनासँग पुनः सम्बन्ध गाँस्ने अमूल्य अवसर प्रदान गर्छन्।









