३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

शिक्षकपछि चिकित्सक पनि सडकमा



लामो समयदेखि विभिन्न माग राखेर शिक्षकहरु सडकमा रहेकै बेला चिकित्सकहरुले पनि आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले शुक्रबार (वैशाख १२ गते) सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा सहभागी नहुन चिकित्सकहरुलाई आह्वान गरेको छ ।

यस्तै, उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम राखेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा ‘आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ ठाउँबाट धम्की आएको’ भन्दै आन्दोलन जारी राख्ने उल्लेख गरिएको छ ।

निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् । चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै बिहीबार पनि माइतीघरस्थित स्वास्थ्यमन्त्रालय अगाडि प्रदर्शन गरेका थिए ।

चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन् । तर, निजी कलेज सञ्चालकहरु आफूहरुले भने उक्त रकम दिन नसक्ने अडान लिइरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : १८ बजे