२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

दोस्रो0 कार्यकालको सय दिन नजिकिँदै गर्दा ट्रम्पको अनुमोदन दर अहिलेसम्मकै न्यून



राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः निर्वाचित भएको सय पुग्नै लाग्दा अमेरिकी जनताको धारणा तीव्र रुपमा नकारात्मक बनेको सीएनएन र एसएसआरएसले हालै गरेको सर्वेक्षणले देखाएको छ ।

हाल ट्रम्पको समग्र अनुमोदन दर ४१% मा झरेको छ उक्त सर्वेक्षणले जनाउको छ। जुन कम्तीमा सय दिनमै यो तहको न्यून अनुमोदन पाएको राष्ट्रपति ७० वर्षको अवधीमा सबैभन्दा कम हो । ट्रम्पको पहिलो कार्यकालको १०० दिनभन्दा पनि यो अनुमोदन दर कम हो । मार्चदेखि अनुमोदन दरमा ४ अङ्कले गिरावट आएको छ भने फेब्रुअरी अन्त्ययता ७ अङ्कले घटेको छ । अहिले मात्र २२% अमेरिकीहरूले ट्रम्पको नेतृत्वलाई “दृढतापूर्वक समर्थन” गरेका छन् । यो अहिलेसम्मकै न्यून बताइएको छ ।

प्रमुख जनसमूहहरूमा ट्रम्पप्रति समर्थनमा उल्लेखनीय गिरावट देखिएको छ । महिला र हिस्पानिक अमेरिकीहरूमा समर्थन ७ अङ्कले घटेर क्रमशः ३६% र २८% पुगेको छ । स्वतन्त्र (इन्डिपेन्डेन्ट) मतदाताहरूबीच ट्रम्पको समर्थन दर ३१% मा झरेको छ, जुन उनको पहिलो कार्यकालको सबैभन्दा तल्लो बिन्दु सँग मेल खान्छ ।

सर्वेक्षण अनुसार ट्रम्पले यसअवधीमा उठाएको लगभग सबै मुख्य विषयमा जनसमर्थन घट्दै गएको छ । अर्थतन्त्रको व्यवस्थापनमा उनको अनुमोदन दर मार्च यता तीव्र गतिमा घटेको छ । मूल्यवृद्धि र भन्सार नीतिको कारण शेयर बजारमा अस्थिरता देखिएपछि महङ्गीको मामलामा अनुमोदन दर ९ अङ्कले घटेर ३५% पुगेको छ भने अर्थतन्त्र सम्हाल्ने क्षमतामा विश्वास गर्नेहरू पनि १३ अङ्कले घटेका छन् ।

“म निराश छु । मैले उनलाई भोट दिएकी थिइनँ । तर अर्थतन्त्र सुधार्नेछन् भन्ने आश गरेका थिएँ । अहिले त झन् निराश भइसकेकी छु,” भर्जिनियाकी ५५ वर्षीया एक स्वतन्त्र मतदाताले भनेको सीएनएनले उल्ललेख गरेको छ ।

आन्तरिक मामिलामा पनि ट्रम्पको प्रदर्शनप्रति असन्तुष्टि बढेको छ । संघीय सरकारको व्यवस्थापनमा अनुमोदन दर ४२% मा झरेको छ भने उपयुक्त व्यक्तिहरूको नियुक्तिमा विश्वास गर्नेहरूको संख्या पनि ८ अङ्कले घटेर ४६% पुगेको छ । अधिकांश अमेरिकीहरू (५७%) ले ट्रम्पको नेतृत्व शैलीले देशलाई अनावश्यक जोखिममा पारेको बताएका छन् ।

वैदेशिक मामिलामा ट्रम्पले देखाएको रूसप्रति नरम धारणा र विदेशी सहायता कार्यक्रमहरू समाप्त गर्ने निर्णयहरू पनि अस्वीकृत भएका छन् । यसमा ६०% ले असन्तुष्टि जनाएका छन् ।

पहिलो कार्यकालमा अपेक्षाकृत बलियो मुद्दा मानिएको आप्रवासन (इमिग्रेसन) मामिलामा समेत ट्रम्पको अनुमोदन दर ६ अङ्कले घटेर ४५% मा झरेको छ । तर यस्तो नकारात्मक प्रवृत्तिका बीच ट्रम्पले लिङ्ग पहिचानसम्बन्धी नीतिमा भने सानो सकारात्मक समर्थन पाएका छन् । सर्वेक्षणमा ५१% अमेरिकीहरूले “पुरुष र महिला मात्रै हुने” ट्रम्पको नीति समर्थन गरेका छन् । रिपब्लिकनहरूका ९०%, स्वतन्त्रहरूको ४८% र डेमोक्र्याटहरूको १६% ले यसमा समर्थन जनाएका छन् ।

“पुरुष र महिला मात्रै हुने भनेर कानुनीरूपमा घोषणा गर्दा म निकै खुशी भएँ,” मेरील्याण्डकी तीन सन्तानकी आमा तथा ट्रम्प समर्थक लिसा मन्सनले भनिन् ।

कला, संस्कृति र अमेरिकी इतिहासका संस्थाहरूमा ट्रम्पले हस्तक्षेप गर्नु (जस्तै कि केनेडी सेन्टर र स्मिथसोनियन संस्थाहरूमा परिवर्तन ल्याउने प्रयास) भने ६४% अमेरिकीहरूले अनुचित मानेका छन् । उपाध्यक्ष जेडी भ्यान्सको अनुमोदन दर पनि ट्रम्पको जस्तै ४१% मा छ । न त ट्रम्प न त भ्यान्स, दुबैलाई अमेरिकी जनताको बहुमतले सकारात्मक दृष्टिले हेरेका छैनन् ।

सर्वेक्षण अनुसार राष्ट्रपतिको शक्ति जिम्मेवारीपूर्वक प्रयोग गर्ने ट्रम्पको क्षमतामा विश्वास ८ अङ्कले घटेर ४६% मा झरेको छ, भने देशलाई नेतृत्व दिने क्षमतामा विश्वास ९ अङ्कले घटेर ५०% पुगेको छ । कार्यकारी आदेश (एक्जिक्युटिभ अर्डर) हरूको अति प्रयोग र तिनमा अदालतबाट निरस्तीकरणले पनि आलोचना बढाएका छन् ।

“ट्रम्प कार्यकारी आदेशहरूमा धेरै अति गर्छन् । उनी यता उता गोली चलाउने यासेमिटी स्यामजस्तै हुन्,” न्यू मेक्सिकोका आंशिक अवकाशप्राप्त वकिल तथा ट्रम्प समर्थक जर्ज मास्त्रोडोनाटोले भनेका छन् ।

यद्यपि आलोचना बढे पनि, ५२% अमेरिकीहरू ट्रम्पको दोस्रो कार्यकालले देशमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास गर्छन् । तर महत्वपूर्ण समस्या समाधान गर्न उनी सफल भएका छन् भन्नेमा विश्वास गर्नेहरू भने केवल २८% मात्र छन् ।

सीएनएन र एसएसआरएसद्वारा सञ्चालित यो सर्वेक्षण अप्रिल १७ देखि अप्रिल २४ सम्म १,६७८ वयस्कहरूमा गरिएको थियो । सर्वेक्षणको त्रुटि सीमा ±२.९ प्रतिशत विन्दु रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ५९ बजे