३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

शिक्षक महासंघको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीको आक्रोश, समीक्षा बैठकमा तनाव



नेपाल शिक्षक महासंघ २९ दिन लामो आन्दोलन टुंग्याउन सरकारसँग ९ बुँदे सहमति गरे पनि विद्यालय कर्मचारीले आन्दोलनलाई निरन्तरता दिने भएका छन् । सहमतिमा कर्मचारीका माग समेटिएन भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले तीव्र असन्तुष्टि जनाएको छ । बुधबार रातिको सहमति धोका भएको भन्दै कर्मचारी नेताहरूले बिहीबार बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित समीक्षा बैठकमै विरोध जनाए ।

आन्दोलन फिर्ता लिएपछि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समीक्षा र विश्व श्रमिक दिवसको शुभकामना आदानप्रदानका लागि काठमाडौँका शिक्षक र कर्मचारीलाई दिउँसो १२ बजे रत्नराज्य माविमा बोलाएका थिए । तर, कार्यक्रम सुरु नहुँदै माहोल तनावग्रस्त बन्यो।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगी नेतृत्वको टोली आक्रोशित हुँदै कार्यक्रमस्थल पुगे । उनीहरूले ९ बुँदे सहमति कर्मचारीका मागलाई बेवास्ता गरेको भन्दै विरोध जनाए ।

माहोल बिग्रिन थालेपछि अध्यक्ष सुवेदीले महासचिव तुलाबहादुर थापाको सम्बोधनपछि हतारमा कार्यक्रम समापन भएको घोषणा गरे । तर, कर्मचारीहरूले सहमतिको छापिएको प्रतिलाई फाल्दै नाराबाजी गरे । सुवेदीले जवाफ दिने प्रयास गरे पनि नाराबाजी र आक्रोशका बीच समीक्षा बैठक बिना निष्कर्ष टुंगियो ।

देशभरका सामुदायिक विद्यालयमा ३१,६२३ विद्यालय कर्मचारी कार्यरत छन् । अस्थायी दरबन्दीमा रहेका उनीहरूले सरकारको अनुदानबाट न्यून पारिश्रमिक पाउँछन्—विद्यालय सहयोगीले मासिक ८,००० र लेखापालले १३,५०० रुपैयाँ । शिक्षक महासंघले प्रारम्भिक बाल विकास सहजकर्ता र कर्मचारीका लागि खरिदारसरह दरबन्दी (३२,९०२ रुपैयाँ) र सहयोगीका लागि श्रेणीविहीन कर्मचारीसरह (२६,०८२ रुपैयाँ) तलबको प्रस्ताव गरेको थियो । तर, बुधबारको सहमतिमा यी माग समेटिएनन् । सहमतिमा “नेपाल सरकारले तोकेबमोजिम” पारिश्रमिक दिने उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ५६ बजे