ल्हाक्पा गेलु शेर्पा, न्यूयोर्क — हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन अमेरिका (Himalayan Budhist Community) को आयोजनामा यस वर्षको २५६९ औं बुद्ध जयन्ती २०२५ मे ११ आइतबारका दिन न्यूयोर्कमा भव्य रूपमा मनाइने भएको छ। कार्यक्रम न्यूयोर्कको शेर्पा किदुग गुम्बा (41-01 75th Street, Tenzing Norgay Sherpa Way, Elmhurst, NY 11373) मा आयोजना हुनेछ।
कार्यक्रम बौद्ध धर्मका अनुयायीहरूका लागि मात्र नभई सबै धर्म, संस्कृति र समुदायका व्यक्तिहरूलाई समेट्दै बुद्धका शान्ति, करुणा र अहिंसाका शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै छ।
कार्यक्रम बिहान ८:०० बजे धर्मगुरुज्यूहरूद्वारा धार्मिक पाठ, पूजा तथा ध्यानबाट सुरु हुनेछ। त्यसपछि ११:०० बजे बुद्धको सन्देश बोकेर शान्ति पदयात्रा आयोजना गरिनेछ। १२:३० बजे धर्मगुरुहरूले बुद्धका जीवन, चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, करुणा र अहिंसाका शिक्षाहरूमा आधारित विशेष प्रवचन दिनेछन्। कार्यक्रम २:०० बजे प्रसाद (छो) ग्रहण सहित समापन हुनेछ।
HBC का अध्यक्ष हृदय तुलाधर र कार्यक्रम संयोजक राजकुमार बिष्ट ले संयुक्त रूपमा सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा दिएका छन्। अध्यक्ष तुलाधरले भने, “बुद्ध जयन्ती हाम्रो साझा चाड हो। यसलाई सामूहिक रूपमा, ऐक्यबद्धताका साथ मनाउनु पर्छ। हामी सबैले मिलेर बुद्धका शिक्षालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ।”
कार्यक्रममा नेवा गुठी न्यूयोर्क, युनाइटेड शेर्पा एसोसिएसन अमेरिका, गुरुङ (तमु) समाज अमेरिका, मुस्ताङ किदुग अमेरिका, मनाङ समाज अमेरिका, युनाइटेड मुगुं संगठन अमेरिका, मगर संघ अमेरिका, नुब्री संघ अमेरिका, ह्योल्मो समाज अमेरिका, धोक्र्या किदुग अमेरिका, तमु परिवार न्यूयोर्क, डोल्पा समाज अमेरिका, चुम समाज अमेरिका, कर्मा रोंग समाज अमेरिका, तामाङ समाज न्यूयोर्क, वलुङ्ग समुदाय उत्तर अमेरिका लगायतका संघ-संस्थाहरूको सक्रिय सहभागिता रहनेछ।
आयोजकहरूले यो कार्यक्रम धार्मिक आस्था, सांस्कृतिक संरक्षण र समुदायबीचको ऐक्यबद्धता प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरेका छन्। बुद्ध जयन्तीको यो कार्यक्रम न्यूयोर्कका नेपाली र हिमाली समुदायलाई आपसमा अझ नजिक ल्याउने आशा गरिएको छ।
बुद्ध जयन्तीको महत्त्व:
बुद्ध जयन्ती बुद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई संसारभरका शान्ति, करुणा र मानवतामा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण पर्व हो। यो दिन सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति (ज्ञान प्राप्ति) र महापरिनिर्वाण; यी तीनवटै महत्वपूर्ण घटनाहरू एकै दिन परेको सम्झनामा मनाइन्छ। बुद्ध जयन्तीले हामीलाई आत्मचिन्तन, अहिंसा, सहिष्णुता र करुणाको बाटोमा अघि बढ्न प्रेरित गर्छ।
आजको समयमा विश्व अनेकौं हिंसा, द्वन्द्व, अन्याय, असमानता र अशान्तिका समस्यासँग जुधिरहेको छ। यस्ता परिस्थितिमा बुद्धका शिक्षाहरू अझ बढी सान्दर्भिक भएका छन्। बुद्धले दिएको चार आर्य सत्य र अष्टाङ्गिक मार्गले जीवनका दुःख र समस्याको समाधान खोज्न दिशानिर्देश दिन्छ। उहाँको शिक्षा अनुसार लोभ, द्वेष र मोहबाट मुक्त भई शुद्ध मन, सहिष्णुता र करुणाको अभ्यास गर्नु नै वास्तविक सुखको बाटो हो।
बुद्ध जयन्तीले समुदायमा धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई संरक्षण गर्न सहयोग पुर्याउँछ। यस अवसरमा पूजा, ध्यान, प्रवचन, शान्ति पदयात्रा जस्ता गतिविधिहरू आयोजना गरेर समाजमा सकारात्मक विचार र मानवीय मूल्यहरूको विस्तार गरिन्छ। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई बुद्धका शिक्षाहरूको ज्ञान र महत्त्व बुझ्न सघाउँछ, जसले उनीहरूलाई जीवनका कठिनाइ र चुनौतीहरूलाई शान्तिपूर्वक सामना गर्न सक्षम बनाउँछ।
यसरी बुद्ध जयन्ती केवल एउटा धार्मिक पर्व नभई शान्ति, करुणा, सहअस्तित्व र मानवताको सन्देश फैलाउने अवसर पनि हो। सबै धर्म, जात र समुदायलाई समेट्दै यो पर्वले विश्वमा प्रेम र भाइचाराको भावना सुदृढ बनाउने काम गर्दछ। आजको युगमा बुद्धका शिक्षाहरूको महत्व अझ गहिरो हुँदै गइरहेको छ, जसले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण समाज र मानव सभ्यतालाई नै सकारात्मक परिवर्तनतर्फ डोर्याउन सक्छ।