दक्षिण कोरियामा भाषा अध्ययन (डी४) र स्नातक तहको अध्ययन (डी२) गर्न जाने नेपाली विद्यार्थीहरूका लागि आवश्यक पर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अब अस्थायी रूपमा स्थगित गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै अध्ययनको सिलसिलामा दक्षिण कोरिया जान चाहने विद्यार्थीहरूलाई तत्कालका लागि एनओसी नदिइने निर्णय सार्वजनिक गरेको हो । मन्त्रालयले डी२ र डी४ भिसा व्यवस्थापन गर्न एक कार्यदल गठन गर्ने जानकारी दिँदै, सो कार्यदलको प्रतिवेदनको आधारमा आगामी निर्णय लिइने उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार विद्यार्थीहरूले अध्ययनभन्दा रोजगारीमा बढी प्राथमिकता दिने, कम श्रेणीका वा कालोसूचीमा परेका विश्वविद्यालयहरूमा भर्ना हुने, र स्टडी आवर कम भएका शिक्षण संस्थाहरू रोज्ने प्रवृत्ति देखिएको छ। साथै, कन्सल्टेन्सीहरूको प्रभावमा परेर विद्यार्थीहरूले कोरिया पुगेपछि तत्कालै काम पाउने आश्वासन पाउने तर त्यहाँ पुगेर मानसिक तनाव र व्यवहारिक समस्याहरू झेल्नु परेको गुनासोसमेत मन्त्रालयमा दर्ता भएको जनाइएको छ ।
सरकारको दाबीअनुसार कोरियामा अध्ययनका नाममा जाने विद्यार्थीहरूको उद्देश्य शिक्षा भन्दा विदेशी आम्दानीमा केन्द्रित हुने देखिएको छ, जसले नेपाली विद्यार्थीहरूको शैक्षिक छवि र विश्वसनीयता कमजोर बनाउन सक्छ ।
मन्त्रालयले एनओसी नदिने यो निर्णय अस्थायी भएको स्पष्ट गर्दै, समस्या समाधानका लागि अध्ययन र सुझाव संकलनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।









