खराब मौसमको चुनौतीबीच बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ४० जना स्वदेशी तथा विदेशी आरोही सफलतापूर्वक पुगेका छन् । पर्यटन विभागका अनुसार एकै दिन सफल शिखरारोहण गर्नेहरूमा २२ नेपालीसहित चीन, युक्रेन, चेक गणराज्य, अमेरिका र जापानका आरोही छन् ।
तीन फरक–फरक पर्वतारोहण कम्पनीमार्फत गएका उनीहरू बुधबार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् । यो सिजनको व्यावसायिक आरोहण औपचारिक रूपमा बुधबारदेखि सुरु भएको छ । यस सिजनको तयारीस्वरूप दोस्रो शिविरदेखि शिखरसम्मको बाटोमा आवश्यक डोरी टाँग्ने काम ‘ऐटके एक्सपिडिसन’ मा कार्यरत सात नेपाली माउन्टेन गाइडले गत शुक्रबार नै सम्पन्न गरेका थिए ।
सगरमाथा सफलतापूर्वक आरोहण गर्नेहरूमा ८ चिनियाँ, ६ युक्रेनी, २ जना चेक गणराज्यका, १ अमेरिकी र १ जापानी नागरिक छन् । उनीहरूलाई सहयोग गर्ने २२ नेपाली गाइड तथा शेर्पाहरूले पनि सगरमाथाको शिखर टेक्न सफल भएका छन् ।
पर्यटन विभागका अनुसार यस सिजनमा मात्र सगरमाथा आरोहणका लागि ४५ आरोहण दलले अनुमति पाएका छन्, जसमा ८४ महिला र ३७२ पुरुष छन् । यस्तै, सगरमाथासँगै रहेको ल्होत्से हिमालका लागि १०७ र नुप्से हिमालका लागि ७६ जनाले आरोहण अनुमति पाएका छन्।
सगरमाथा आधार शिविर क्षेत्रमा आरोही र उनीहरूका सहयोगीसहित करिब एक हजार स्वदेशी तथा विदेशी रहेका छन् । यस सिजनमा सरकारले हिमाल आरोहण अनुमति दस्तुरबाट ७७ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ ।









