९ असार २०८२, सोमबार | Tue Jun 24 2025

एनआरएनए नयाँ कार्यसमिति बारे राजदूतावासहरुलाई परराष्ट्रको जानकारी



परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महेशकुमार श्रेष्ठ नेतृत्वको नवनिर्वाचित कार्यसमिति बनेको जानकारी विश्वभरका नेपाली दूतावासहरूलाई पठाएको छ।

बिहीबार शाखा अधिकृत सृजना कोइरालाले मन्त्रालयतर्फबाट हस्ताक्षर गरेको पत्रमार्फत श्रेष्ठ नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमिति सम्बन्धी विवरण दूतावासहरूमा पठाइएको हो। पत्रमा वैशाख ३० गतेको मितिमा परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्दै उक्त कार्यसमितिको औपचारिक जानकारी आएको उल्लेख गरिएको छ।

श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशन तथा त्यसपछिको निर्वाचन कार्यतालिका अनुरूप निर्विरोध निर्वाचित भएको हो।

तर, यसअघि अध्यक्ष रहेका बद्री केसीले आफ्नो कार्यकाल अझै बाँकी रहेको दाबी गर्दै कार्यसमितिको नेतृत्व आफूले नै गर्नुपर्ने माग गरिरहेका छन्।

सर्वोच्च अदालतले हालसम्म केसी नेतृत्वको कार्यसमितिलाई अवैधानिक ठहर गरिसकेको छैन। यद्यपि अदालतकै आदेशमा गठन भएको समितिबाट सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसकेकाले विवाद अझै पूर्ण रूपमा टुंगिएको छैन।

यसबीच परराष्ट्रमन्त्रीले सुरुदेखि नै श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई वैधानिक मानेको देखिन्छ। अर्कोतर्फ, केसी पक्षले आयोजना गरेका कार्यक्रमहरूमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै आएको देखिन्छ। सर्वोच्च अदालतमा अझैसमेत यस विषयमा अर्को निवेदन विचाराधीन अवस्थामा रहेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ८ : ४५ बजे