९ असार २०८२, सोमबार | Tue Jun 24 2025

प्रसाईंमाथि ५, मिश्र र राणामाथि ३ कसुरमा मुद्दा चलाउन प्रहरीको सिफारिस



राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंमाथि कर्तव्यज्यान लगायत ५ वटा अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका सन्दर्भमा प्रहरीले अनुसन्धानपछि यस्तो सिफारिस गरेको हो।

प्रहरीका अनुसार प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने देखिएको छ। ती प्रदर्शनमा भएको जनधनको क्षतिमा उनी प्रमुख योजनाकारका रूपमा संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

सोही घटनामा अगुवा भूमिका खेलेको ठहर गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध पनि प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। उनीहरूमाथि राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान उद्योग र आपराधिक उपद्रवको अभियोग लगाइएको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, उक्त घटनामा संलग्न देखिएका १०८ जनालाई प्रतिवादी बनाउने रायसहित प्रतिवेदन बुझाइएको हो।

चैत १५ गते पूर्वराजाको समर्थनमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। साथै तीनकुने क्षेत्रका घर, उद्योग र निजी सवारीसाधनमा समेत आगजनी र तोडफोड भएको थियो।

प्रहरीले मिश्र र राणालाई सोही दिन पक्राउ गरेपनि दुर्गा प्रसाईं भारततर्फ फरार भएका थिए। भारतीय सुरक्षासँगको समन्वयमा उनलाई पक्राउ गरी नेपाल फर्काइएको प्रहरीले जनाएको छ।

अब सरकारी वकिलको कार्यालयले प्रहरीको सिफारिसअनुसार मुद्दा अघि बढाउने वा नबढाउने निर्णय गर्नेछ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  १० : २७ बजे