३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

३१औँ पटक सगरमाथा चढेर कामीरिता शेर्पाद्वारा नयाँ कीर्तिमान



प्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै सर्वोच्च शिखरमा सर्वाधिक पटक पुगेको आफ्नै कीर्तिमान तोडेका छन् ।

५५ वर्षीय शेर्पा मंगलबार बिहान भारतीय सेनाको आरोहण टोलीसँग सगरमाथाको चुचुरोमा पुगेका हुन् । सोलुखुम्बुको थामे गाउँका कामीरिता सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका थिए ।

‘एभरेस्ट म्यान’ भनेर चिनिने उनी हाल ‘फोर्टिनपीक एक्सपिडिसन’ नामक आरोहण कम्पनीसँग आबद्ध छन् । कम्पनीका प्रमुख टासीलाक्पा शेर्पाका अनुसार कामीरिता हाललाई अवकाशको मनस्थितिमा छैनन् र स्वास्थ्यले साथ दिँदासम्म आरोहण जारी राख्ने सोचमा छन् ।

कामीरितासँग प्रतिस्पर्धामा रहेका पाङ्बोचेका पासाङ दावा शेर्पाले पनि यस वर्ष २९औँ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

कामीरिता शेर्पा हालैका वर्षहरूमा प्रत्येक सिजनमा कम्तीमा एकपटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान अद्यावधिक गरिरहेका छन् । सन् २०२० को कोभिड महामारी बाहेक उनले प्रत्येक वर्ष सगरमाथा आरोहण गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  १० : ५९ बजे