३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

यस वर्षको मनसुनमा झन्डै २० लाख जनसंख्या प्रभावित हुने सरकारको अनुमान



यस वर्षको मनसुन अवधिमा देशभर झन्डै २० लाख जनसंख्या बाढी, पहिरो र अन्य पानीजन्य विपदबाट प्रभावित हुने सरकारले अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या जोखिममा पर्ने आँकलन गरेको हो ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको वर्षा प्रक्षेपणलाई आधार बनाएर उक्त अनुमान सार्वजनिक गरेको हो । विभागका अनुसार यस वर्ष अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ, विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जलवायु परिवर्तनको असरका कारण यसपालि हिमाली जिल्लाहरूमा पनि सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन् । यस्तो असामान्य अवस्था हिउँ पग्लने दर बढाउने भएकाले विज्ञहरूले यसलाई चिन्ताजनक संकेत मानेका छन् ।

नेपालमा मनसुन सामान्यतः जुन १३ मा भित्रिन्छ । तर मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार हालको अवस्था हेर्दा यस वर्ष जुन १३ भन्दा केही अघि नै मनसुन भित्रिने सम्भावना देखिएको छ । प्रिमनसुनमा पनि सरदरभन्दा बढी वर्षा भएकाले मनसुनमा जनधनको क्षति हुन सक्ने भन्दै सतर्क रहन विज्ञहरूले आग्रह गरेका छन् ।

मनसुन सुरु हुनुअघि गृह मन्त्रालयले उच्च सतर्कता अपनाउँदै आवश्यक तयारी थालेको जनाएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना” पारित गरेको छ ।

कार्ययोजनाअनुसार बाढी, डुबान, पहिरो, संक्रमणजन्य रोगसम्बन्धी एसएमएसमार्फत चेतावनी दिने, क्षतिग्रस्त टेलिकम टावरको विकल्पमा बीटीएस भ्यान तयारी अवस्थामा राख्ने, उद्धारका लागि सुर्खेत र काठमाडौंमा तीनवटा हेलिकप्टर स्ट्याण्डबाई राख्ने, गौचरस्थित नेपाली सेनाको ब्यारेकमा ‘क्विक रेस्पोन्स टिम’ १५ मिनेटमै हवाई परिचालन गर्न सक्ने तयारीमा राख्ने लगायतका कार्यहरु रहेका छन् । सेना, प्रहरी, सशस्त्र, रेडक्रसदेखि निजी क्षेत्र र विभिन्न मन्त्रालयहरूलाई समेत जिम्मेवारी तोकिएको छ ।

सरकारले सम्पूर्ण सरोकारवालालाई सक्रिय भूमिका निभाउन आग्रह गरेको छ । विपद् न्यूनीकरण र प्रभावकारी उद्धारका लागि प्रदेश र स्थानीय तहमा समेत समन्वयात्मक तयारीका योजना अघि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ४७ बजे