सत्तारुढ दल एमालले पनि आजकै दिन गणतन्त्र उत्सव मनाउने घोषणा गरेपछि अशान्तिको आशंका बीच राप्रपासहितका राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको छ ।
दुवै पक्षको प्रदर्शनस्थल शान्तिबाटिका भएकोले पनि प्रशासनले बिशेष सुरक्षा व्यवस्था गरेको थियो । तर दिउँसो २ बजे अघि एमालेलाई समय दिएको र त्यसपछि राजावादीलाई समय दिएकाले पनि शान्तिपूर्ण रुपमा प्रदर्शन सकिएको हो ।
वर्तमान व्यवस्था खारेज गरी राजतन्त्र र हिन्दू अधिराज्य फर्काउने निर्णायक आन्दोद्यनको संज्ञा दिएर राजावादीहरुले जेठ १५ देखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ । यसअघि चैत १५ मा आन्दोलन सुरु भएकै दिन हिंसा भएपछि रक्षात्मक अबस्थामा पुगेका राजावादीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहकै पहलमा एक ठाउँमा ल्याएर आन्दोलनमा जाने वातावरण बनाएको हो ।
बिहीबारबो कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले पाँच जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन जारी रहने राप्रपा र राप्रपा नेपालका नेताहरुले बताएका छन् ।
‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, नेताहरुले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला ।’
प्रदर्शन सकिएपछि भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताएका थिए ।









