विश्वका धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्प प्रशासनमा विशेष सरकारी कर्मचारीको भूमिकाबाट बाहिरिएको घोषणा गरेका छन् । अमेरिकी संघीय सरकारको आकार घटाउने उद्देश्यले सञ्चालन गरिएको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डीओजीइ)’ को नेतृत्व गर्दै आएका मस्कले विवादास्पद छँदै आएको यो अभियानबाट हात झिकेका हुन् ।
आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उनले “खर्च घटाउने” अवसर प्रदान गरेकोमा पूर्व राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, “डीओजीइ मिशन समयसँगै अझ बलियो बन्दै जान्छ, जुन सरकारभित्र एउटा जीवनशैली बन्नेछ ।”
बीबीसीका अनुसार मस्कलाई विशेष सरकारी कर्मचारीको रूपमा “अफबोर्ड” गर्ने प्रक्रिया बुधबार रातिदेखि सुरु गरिएको छ । मस्कको नियुक्ति अस्थायी थियो र उनको बाहिरिने समय पूर्व निर्धारित भए तापनि यो निर्णय ट्रम्पको बजेट विधेयकप्रति मस्कको आलोचना पछिको दिन भएको छ ।
टेस्ला र स्पेसएक्सका मालिक मस्कले ट्रम्पको बहु-खर्ब डलरको कर छुट र रक्षा खर्च बढाउने प्रस्तावलाई “घाटा बढाउने” बताउँदै आलोचना गरेका थिए । सीबीएससँगको अन्तर्वार्तामा उनले भने, “बिल ठूलो हुन सक्छ, सुन्दर पनि हुन सक्छ । तर दुबै एकैचोटि हुनसक्छ भन्ने मलाई लाग्दैन ।”
मस्कले यो विधेयकले डीओजीइको कामको प्रभावलाई कमजोर बनाएको आरोप पनि लगाएका थिए ।
सुरुमा मस्कले संघीय खर्चबाट २ खर्ब डलर घटाउने दाबी गरेका थिए । तर आलोचना र प्रशासनिक जटिलताबीच उनले उक्त लक्ष्य घटाउँदै १५० अर्ब डलरमा सीमित गरे ।
डीओजीइ अन्तर्गतको छरितो कर्मचारी कटौती अभियानले करिब २ लाख ६० हजार संघीय कर्मचारीको जागिर गुमाएको जनाइएको छ । कतिपय अवस्थामा संघीय न्यायाधीशहरूले कर्मचारी पुनः नियुक्त गर्न आदेश दिएका थिए । गल्तीले अमेरिकी आणविक कार्यक्रमका कर्मचारीहरूसमेत हटाइएका घटनाले यो अभियान विवादमा परेको थियो ।
मंगलबार वासिङटन पोष्टसँग टेक्सासमा कुराकानी गर्दै मस्कले भने, “डीओजीइलाई हरेक समस्याको दोषी बनाइन्छ । हामीसँग कुनै सरोकार नभएको घटनामा पनि दोष लगाइन्छ ।”
डीओजीइमा मस्कको सक्रियतासँगै उनको कम्पनी टेस्लामा ऐतिहासिक गिरावट देखिएको छ । कम्पनीको बिक्री यो वर्षको पहिलो त्रैमासिकमा १३ प्रतिशतले घट्यो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्टक मूल्य पनि ४५ प्रतिशतसम्म घटेको थियो, हाल केही सुधार भई १० प्रतिशतले मात्र घटेको छ ।
राजनीतिक ध्रुवीकरणले गर्दा टेस्लाविरुद्ध अमेरिका भर प्रदर्शन, गाडी र चार्जिङ स्टेसनमा तोडफोडका घटनाहरू भएका छन् । त्यसलाई गम्भीर रूपमा लिँदै अमेरिकी महान्यायाधिवक्ता पाम बण्डीले यस्ता कार्यलाई “घरेलु आतंकवाद” भनी घोषणा गरेकी छन् ।
मस्कले यसअघि ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई ३०० मिलियन डलरभन्दा बढी राजनीतिक चन्दा दिएको खुलाएका थिए । अब उनले भविष्यमा यस्तो सहयोग कटौती गर्ने बताएका छन् ।
कतारको दोहामा आयोजित आर्थिक फोरममा मस्कले टेस्ला प्रमुखको रूपमा आउँदो पाँच वर्षसम्म सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिनाको लगानीकर्ता बैठकमा उनले भनेका थिए, “डीओजीइमा दिने समय अब धेरै घट्छ । म टेस्लामा मेरो ध्यान केन्द्रित गर्दैछु ।”









