राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई निष्पक्ष छानबिन हुन दिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने अडान दोहोर्याएको छ । त्यस्तै, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयको संलग्नता लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनपर्ने पनि रास्वपाले माग गरेको छ ।
रास्वपा संसदीय दलको सोमबार बसेको बैठकले भिजिट भिसामा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने र प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नदिने निर्णय गरेको हो । यसअघि माओवादी र नेकपा एस पनि मिलेर संसद अवरोध गरेपनि माओवादी र नेकपा एस गृहमन्त्रीको राजीनामामा नअडिने संकेत पाएको रास्वपाको संसदीय दलले निर्णय गरेको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि पार्टीका सांसदले अवरोध गर्ने निर्णय भएको छ ।
‘भोलिको संसद् बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रस्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीले पद छोडिदिनुपर्छ । अरुलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ,’ उनले भने, ‘अभियोग र प्रश्न गृहमन्त्रीमाथि उठेकोले गर्दा गृहमन्त्रीले आएर जवाफ दिने होइन । परिवारमा कुनै समस्या आयो भने अभिभावकले आएर जिम्मेवारी लिन्छ । त्यसैले अहिले सरकारको अभिभावकको रुपमा रहनुभएको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’
संसदको कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलसँग समेत सहकार्य गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
तीन दलका शीर्ष नेताबीच छलफल
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलका शीर्ष नेताको बैठक राखेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओलीले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेता सहभागी भएको बैठकका सहभागीका अनुसार प्रधानमन्त्रीले संसद खुलाउने वातावरण बनाउन आग्रह गरे पनि प्रमुख प्रतिपक्षी नेता दाहालले ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताइएको छ ।
छलफल गर्दै जाने भन्ने भए पनि कुनै टुंगोमा नपुगेको बताइएको छ ।









