३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

भारतबाट फर्किंदै गरेका तीन जना नेपालीमा कोरोना पुष्टि



भारतमा फैलिएको कोरोनाको असर नेपालमा पनि पर्नथालेको छ । खुला सिमा र रोजगारीलगायतका काममा आउजाउ हुने हुँदा भारतमा कोरोना फैलँदा नेपालमा त्रास हुने गर्दछ ।

यसैबीच भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधबार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष, धनगढी घर भएकी २४ वर्षीया महिला र कञ्चनपुरको पुनर्वास घर भएका २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरूमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको छ । तीनै जनालाई ‘होम आइसोलेसन’मा पठाइएको छ । नयाँ भेरियन्टको कोरोना हो वा होइन भन्ने यकिन गर्न पीसीआरबाट परीक्षण गर्न उनीहरूको स्वाब संकलन गरेर काठमाडौं पठाएको बताइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  १० : ०० बजे