राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्रको माग गर्दै जेठ १५ देखि आन्दोलनमा होमिएको राजावादीहरुबीच फेरी दरार देखा परेको छ । त्यसको परिणाम स्वरुप बुधबार दोस्रो चरणको आन्दोलन घोषणा गर्नको लागि आयोजित बैठक बसन् सकेन । हो–हाल्ला र नारावाजी हुँदा कार्यक्रम नै बिथोलिएको छ ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बुधबार बैठक बस्ने बताइएको थियो । सोही बैठकले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताइएको थियो । तर बैठक बस्नु अघि नै सुवेदी आफ्नो पाराले अघि बढ्न खोजेको भन्दै नारावाजी भए । नारावाजीमा सहभागीहरुले सुवेदीको नेतृत्व आन्दोलन उठ्न नसक्ने भन्दै नेतृत्व परिवर्तनको माग समेत गरेका थिए ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा उपस्थित रहेपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित थिए । राजावादी कार्यकर्ताहरुले राजावादी दलहरु मध्ये सबैभन्दा ठूलो दल राप्रपाको नेतृत्व नै उपस्थित नभएको बैठकले दोस्रो चरणको कार्यक्रम घोषणा गर्न नहुने बताएका थिए ।
राजावादी दल तथा सस्था गरेर ४५ वटाको संलग्नतामा सुवेदी नेतृत्वको समिति गठन भएको बताइएको छ । समितिमा सुरुमा सहभागी हुन नमानेका लिंदेन, थापा र केशरबहादुर विष्ट पूर्व राजा ज्ञानेन्द्र शाहको जोडबलमा सुवेदीलाई नेतृत्व मान्न तयार भएका हुन् ।
यद्यपी सुवेदीलाई लिङ्देनले मनै देखि नेतृत्व नस्वीकारेको संकेतहरु दिइ रहेका छन् ।
शनिबारको प्रदर्शनमा धरपकट गरेको भन्दै सुवेदीले आइतवार उपत्यका बन्दको घोषणा गरेको थियो । तर राप्रपाका अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको बन्दमा असहमति रहेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि आइतबार बिहानै सुवेदीले बन्द फिर्ता लिएका थिए ।
निर्णायक आन्दोलनको नाम दिएर जेठ १५ देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलन प्रभावकारी हुन नसकेपछि राजावादी कार्यकर्ता नेतृत्वसँग असन्तुष्ट छन् ।









