५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

ट्रम्पले मस्कलाई कति हानी गर्न सक्ला ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको चर्को सार्वजनिक विवादपछि टेस्लाको सेयर मूल्यमा बिहीबार १४ प्रतिशतको गिरावट आएको छ । राष्ट्रपति निर्वाचनपछि मस्कप्रति ट्रम्पको झुकावले लगानीकर्ताहरू उत्साहित देखिएका थिए, तर पछिल्लो खटपटले मस्कको लागनीका क्षेत्रहरुमा जोखिम निम्त्याएको विश्लेषण गरिएको छ ।

सीएनएनका अनुसार टेस्लासँगै स्पेसएक्स, मस्कको सामाजिक सञ्जाल ‘एक्स’, कृत्रिम बौद्धिकता कम्पनी एक्सएआइ र मस्तिष्कमा चिप जडान गर्ने कम्पनी न्यूरालिंक पनि संघीय नियमनको घेरामा छन् । यिनले अमेरिकी सरकारबाट विभिन्न प्रकारका अनुदान र ठेक्काहरू प्राप्त गरिरहेका छन् ।

बिहीबार ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका थिए, “बजेट बचत गर्न सबैभन्दा सजिलो उपाय भनेको एलन मस्कका सरकारी सब्सिडी र ठेक्का समाप्त गर्नु हो । मलाई सधैं लाग्थ्यो बाइडनले यो किन गरेनन् !” यसमा मस्कले आफ्नो एक्स प्लेटफर्ममा व्यंग्य गर्दै भने, “यो त झन् रमाइलो हुँदै गइरहेको छ । अगाडि बढ, मेरो दिन बनाइदेउ ।”

टेस्लाका सरकारी ठेक्काहरू सीमित भए पनि संघीय नीति र अनुदानले कम्पनीको आम्दानीमा गहिरो प्रभाव पार्छ । इलेक्ट्रिक सवारी खरिदकर्तालाई दिइने ७,५०० अमेरिकी डलरको कर छुट टेस्लालाई ठूलो फाइदा पुग्ने स्रोत हो । यो सुविधा मात्रैबाट गत वर्ष टेस्लाले अर्बौं डलर कमाएको अनुमान छ ।

त्यस्तै, टेस्लाले संघीय र राज्यीय उत्सर्जन मापदण्ड अनुरूप अन्य कम्पनीलाई ‘रेगुलेटरी क्रेडिट’ बेचेर पछिल्ला ६ वर्षमा ८ अर्ब डलरभन्दा बढी कमाएको छ । तर ट्रम्पले यस्ता मापदण्ड हटाउने र राज्यहरूलाई आफ्नै नियम बनाउने अधिकार खोस्ने योजना बनाएका छन्, जसले यस्तो आम्दानीको स्रोत बन्द गरिदिन सक्छ ।

जेपी मोर्गनका अनुसार, इलेक्ट्रिक सवारी कर छुट हराए टेस्लाले हरेक वर्ष १.२ अर्ब डलर गुमाउन सक्छ भने उत्सर्जन क्रेडिट बेच्ने आम्दानी २ अर्ब डलरले घट्न सक्छ ।

मस्कले टेस्लाको भविष्य ‘ड्राइभररहित’ ट्याक्सी सेवा सञ्चालनमा देखेका छन् । तर अहिलेको ‘फुल सेल्फ ड्राइभिङ’ सेवा अझै पूर्ण स्वचालित नभएकाले चालकको उपस्थिति आवश्यक हुन्छ । यो सेवा यसै महिनाभित्र टेक्सासको अष्टिनमा सुरु हुने बताइएको छ । यद्यपि, संघीय ट्राफिक सुरक्षा प्रशासनले यो सेवामा प्रयोग भएका कारहरूसँग सम्बन्धित दुर्घटनाहरूको अनुसन्धान गरिरहेको छ ।

स्पेसएक्सले नासा र रक्षा विभागबाट क्रमशः १५.२ अर्ब र ५.८ अर्ब डलरको ठेक्का पाएको छ । यिनलाई हटाएर अर्का कम्पनीलाई ती जिम्मेवारी दिन गाह्रो छ, किनकि स्पेसएक्सको प्रतिस्पर्धी कम्पनी बोइङको गत वर्षको एकमात्र अन्तरिक्ष यात्रामा गम्भीर समस्या देखिएको थियो । बोइङको स्टारलाइनर जहाजले दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन नसकेर ९ महिना अन्तरिक्ष स्टेशनमै राख्नुपरेको थियो ।

तर स्पेसएक्स पनि नासा र संघीय विमान प्रशासनको निगरानीमा रहेको छ । यसको स्टारलिंक इन्टरनेट सेवा विस्तार गर्न संघीय सञ्चार आयोगको स्वीकृति आवश्यक पर्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  ११ : ०३ बजे