२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

इरानी कारागारमा रहेका नेपालीको उद्दार तयारी



इजरायल–इरान तनावमा बढ्दै गएर अमेरिकासमेत संलग्न हुन थालेपछि सरकारले इरानको थुनामा रहेका पाँच नेपालीलाई समेत फिर्ता ल्याउन कूटनीतिक प्रयास थालेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अध्यागमन कानुन उल्लंघन सम्बन्धी कसुरमा इरानी थुनामा रहेका नेपाली छुटाउन कूटनीतिक प्रयास थालिएको हो ऽ

कतारस्थित नेपाली दूतावासमार्फत पहल गरिएको बताइएको छ । इरानमा विभिन्न काम गरिरहेका बाँकी ११ नेपालीलाई समेत भारतको सहयोगमा लिएर उद्दार गरेर फिर्ता ल्याइँदैछ । भारतले आफ्नो नागरिकसँग नेपाली र श्रीलंकन नागरिकलाई समेत उद्दार गर्ने जनाएको छ । यसका लागि दिल्लीस्थित नेपाली दूतावासले पहल गरेको हो ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसनर ११ नेपालीलाई इरानको तहरानबाट बसमा मसादसम्म लगिएको छ । मसादबाट विमानमार्फत भारत ल्याउने छ । दिल्लीमा भारतीय नागरिकलाई उतारेर नेपालीलाई सोही विमानमा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सरकारले इजरायलमा रहेर स्वेदश फर्किन चाहने नेपालीलाई समेत उद्धार गर्ने तयारी गरिरहेको बताइएको छ । शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा दुवै देशबाट नागरिकलाई उद्दार गर्ने तयारी भइरहेको बताएकी थिइन् ।

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको र स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेशन पनि खुलेको जानकारी गराएकी थिइन् । स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको उनले जनाएकी थिइन् ।

हाल इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक छन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : ०५ बजे