२४ असार २०८२, मंगलबार | Wed Jul 9 2025

न्यूयोर्कमा फिप्नाको बृहत् सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न



न्यूयोर्क, अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा एक बृहत् आदिवासी जनजाति सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार न्यूयोर्कको वुडसाइडस्थित गुलशन टेरेस हलमा आयोजित उक्त कार्यक्रममा फिप्नासँग आबद्ध १८ सदस्य संस्थाहरूका साथै अन्य विभिन्न नेपाली संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा फिप्नाका सदस्य संस्थाहरूले आआफ्नो मौलिक संस्कृति झल्काउने जातीय भेषभुषामा सजिएर आकर्षक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए, जसले कार्यक्रम हललाई नेपालकै झल्को दिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले महासंघ केवल आदिवासी जनजातिको मात्र नभई सम्पूर्ण उत्पीडित जाति र समुदायको साझा हकअधिकारका लागि उभिएको बताए ।

सो अवसरमा फिप्नाका अध्यक्ष तोरण गुरुङले कार्यक्रमलाई सफल बनाउन सदस्य संस्थाहरूले गरेको अतुलनीय योगदानको प्रशंसा गर्दै आगामी जुलाई ९ मा आयोजना हुने आदिवासी जनजाति दिवसमा पनि सम्पूर्ण जनजाति संघसंस्था तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई उपस्थितिका लागि आग्रह गरे ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, स्वयंसेवक, १८ वटै सदस्य संस्था तथा कलाकारहरूलाई अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईले संयुक्त रूपमा सम्मान-पत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले गरेका थिए भने दोस्रो सांस्कृतिक सत्रको सञ्चालन महिला उपाध्यक्ष ममता राई र सचिव शेर्पाले नै गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरूलाई क्षेत्रीय उपाध्यक्ष पूर्णबहादुर पाईजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गरेका थिए ।

अन्त्यमा, अध्यक्ष तोरण गुरुङले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबै सदस्य संस्था, प्रायोजक, स्वयंसेवक र फिप्ना कार्यसमितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गरे ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : ४९ बजे