२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

न्यूयोर्कमा किराँत राई समुदायले मनायो साकेला उभौली, संस्कृति संरक्षणमा जोड



न्यूयोर्क, अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका, न्यूयोर्क च्याप्टरले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व साकेला उभौली भव्यताका साथ मनाएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका बीच आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रममा किराँत राई समुदाय तथा अन्य नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात नछुङ (धामी) पदमबहादुर राईले साकेला पूजा गरी उपस्थित सबैलाई टीका लगाएर आशीर्वाद दिएपछि भएको थियो । च्याप्टरका अध्यक्ष अरुण राईले सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि, न्यूयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले विदेशमा रहेर पनि आफ्नो संस्कृति संरक्षणमा जुटेकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विदेशमा नेपाली भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएकोमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) का केन्द्रीय सभापति तोरण गुरुङले आफ्नो पहिचान जोगाउनु सबैको जिम्मेवारी भएको बताए भने प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सचिवालय सदस्य राधाकृष्ण देउजाले नेपालीहरूबीचको एकतामा जोड दिए ।

अर्गनाइजेसनका संस्थापक अध्यक्ष प्रभाकर राईले सन् २००७ देखि नै संस्थाले समुदायको हित र संस्कृति संरक्षणमा निरन्तर काम गरिरहेको जानकारी दिए । संस्थाका केन्द्रीय उपाध्यक्ष तथा साकेला थान निर्माण संयोजक मुक्ति वान्तवा राईले अमेरिकाका १५ राज्यमा फैलिएका पाँच च्याप्टरमार्फत संस्था सक्रिय रहेको र भविष्यमा अमेरिकामा एक साकेला थान (पूजास्थल) निर्माण गर्ने योजनाबारे प्रकाश पारे । त्यसैगरी, संस्थाका पूर्व सभापति तथा संरक्षक विष्णु राईले भोजपुरमा अवस्थित राईहरूको आस्थाको केन्द्र साल्पा सिलिचुङको संरक्षणका लागि भेटी तथा सहयोग संकलन सुरु गरिएको जानकारी गराए ।

यस अवसरमा कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका स्वयंसेवक संयोजक जिङ्मी लामा र २५ वर्षदेखि नेपाली चलचित्र उद्योगमार्फत भाषा-संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएका निर्देशक दिनेश लिङ्देनलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए अमेरिका तथा फिप्नाका पूर्व अध्यक्ष शिव कुमार राई, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, शेर्पा किदुङका निवर्तमान महासचिव सुमदोर्जे शेर्पा, किराँत याक्थुङ चुम्लुङ अमेरिकाका सभापति पुरन पयाङ्गु लिम्बु, वरिष्ठ गायिका सपनाश्रीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्ती राईले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको सञ्चालन महासचिव सिर्जना बहिङ राईले गरेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : १६ बजे