२४ असार २०८२, मंगलबार | Wed Jul 9 2025

कांग्रेस बैठकमा बस्नेत–थापा वाकयुद्ध



नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा तेस्रो दिन कार्यसूचीभन्दा बढी ध्यान मोहन बस्नेत र गगन थापा बीचको आरोप–प्रत्यारोपमा केन्द्रित देखिएको छ ।

मंगलबारको बैठकमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापामाथि कडा आरोप लगाउँदै टेरामक्स प्रकरणमा आफूमाथि खुलेर लागेको आरोप लगाए । “महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । संसद्मै पनि बोल्नुभयो, बाहिर पनि लाग्नुभयो,” बस्नेतले भने, “तपाईंको कारणले नै अख्तियारले मेरो छानबिन गर्‍यो ।”

उनले थपे, “मविरुद्ध लाग्ने तपाईं होइन? ढिलोचाँडो सबैको पालो आउँछ । कोही पनि चोखो हुनेवाला छैन। सग्लै चोखिने कोही छैन ।”

बस्नेतले पार्टीभित्र नेतृत्व तहमा रहेका व्यक्तिहरू संगठन जोगाउँदै, जिताएर ल्याउने नेताविरुद्ध खनिने प्रवृत्ति देखिएको गुनासो पनि गरे । “जुन मान्छेले सिन्धुपाल्चोकमा एक्लै लडेर संगठन बनाएको छ, माओवादीसँग भिडिरहेको छ, त्यही नेतामाथि नेतृत्व किन खनिन्छ?” उनले प्रश्न गरे ।

मोहन बस्नेतको ती आरोपपछि महामन्त्री थापाले ती अभिव्यक्तिलाई खारेज गर्दै ती आरोपलाई ‘फोहोर’ को संज्ञा दिए ।

“बाले भन्नुहुन्थ्यो–कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो–फोहोर नचलाउनु, फोहोर चलाए आफैं फोहोरी भइन्छ,” थापाले भने, “आज म आमाको कुरा सुन्छु ।”

थापाले आफू तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा व्यस्त हुँदा, बैठकमा आफ्नो अनुपस्थितिमा धम्कीपूर्ण र अभद्र व्यवहार गरिएको सुनिएको भन्दै ती प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए ।

“बैठकभित्रै केन्द्रीय सदस्यले हुंकार मिश्रित शैलीमा धम्की दिएको सुन्दा दुःख लाग्यो,” उनले भने, “यो नैतिक पतन हो ।”

यस घटनाले कांग्रेसको आन्तरिक छलफल र अनुशासनको स्तरमाथि प्रश्न उठाएको छ । वाकयुद्धको यो घटनाले पार्टीभित्रको असन्तुष्टि सतहमा ल्याइदिएको छ भने, आगामी दिनमा बैठकको कार्यसूचीभन्दा बहसको स्वरूप कता मोडिन्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ०६ बजे