ज्याक्सनहाइट्स, न्युयोर्क । नेपालको संस्कृति, भेषभूषा, कला र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अमेरिकाको फेसन हब न्युयोर्क सहरमा पहिलोपटक ‘नेपाली फेसन एक्सप्रेसन’ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।
ज्याक्सनहाइट्स उड्साइडस्थित “द प्यालेस” हलमा आयोजित उक्त कार्यक्रम नेपाली समुदायको आकर्षणको केन्द्र बनेको थियो । साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालित सो कार्यक्रममा करिब २०० दर्शक एवं श्रोताको उपस्थितिमा नेपालकै झल्को दिने गरी विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो ।
विशेष आकर्षणको रूपमा, नेपालको मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका विविध जातजाति र समुदायको प्रतिनिधित्व गर्ने २७ प्रकारका पारम्परिकदेखि आधुनिक पहिरनमा सजिएका पुरुष तथा महिला मोडलहरू संगीतको तालमा र्याम्पमा प्रस्तुत हुँदा हल ताली र ह्विसलले गुन्जायमान भएको थियो ।
कार्यक्रमका ईभेन्ट प्रिसिडेन्ट तथा चर्चित नेपाली मोडल, अभिनेता र फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको सम्पूर्ण फेसनको संगम प्रस्तुत गर्ने उद्देश्य रहेको बताउँदै भने, “नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने हाम्रो प्रयास अपेक्षाभन्दा बढी सफल भयो, म अत्यन्तै खुसी छु ।”
कार्यक्रम संयोजक सुर्य सिंखडाले पनि दर्शकको उत्साह र सहयोगले कार्यक्रमलाई ऐतिहासिक सफलतामा परिणत गरेकोमा हर्ष प्रकट गर्दै भने, “अमेरिकाको भूमिमा यसरी नेपालका विविधता र मौलिकता झल्काउने कार्यक्रम गर्न पाउँदा हामी सम्पूर्ण टिम गर्वित छौं ।”
सो अवसरमा प्रतिष्ठित अतिथिहरूलाई सम्मान गरिएको थियो भने विविध सांगीतिक प्रस्तुति, नृत्य, तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा सहभागी र अतिथिहरूका लागि विशेष रात्रीभोजको व्यवस्था समेत गरिएको थियो ।
‘नेपाली फेसन एक्सप्रेसन’ ले नेपाली सांस्कृतिक सम्पदा र फेसनलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन गरेको पहलले अमेरिका बसेका नेपालीहरूमा गर्व र प्रेरणा थपेको छ ।



