३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

टेक्सासको केर काउन्टीमा बाढी: ९ बालबालिकासहित २७ जनाको ज्यान गयो, २७ बालिकाहरू अझै बेपत्ता



अमेरिकाको टेक्सास राज्यको केर काउन्टीमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ९ बालबालिकासहित २७ जनाको मृत्यु भएको छ भने २७ बालिकाहरू अझै बेपत्ता छन् । बाढीबाट सर्वाधिक प्रभावित क्षेत्र ग्वाडालुपे नदी किनारमा रहेको क्याम्प मिस्टिक नामक क्रिश्चियन समर क्याम्प बनेको छ । जहाँ बालिकाहरू ग्रीष्मकालीन शिविरमा सहभागी थिए ।

बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ र हालसम्म केही बालिकाहरूलाई सुरक्षित रुपमा भेट्टाइएको भए पनि अझै २७ जना बालिकाहरूको खोजी कार्य जारी रहेको उद्धारमा सहभागी एजेन्सीहरुले उल्लेख गरेको छ । स्थानीय अधिकारीहरूले बेपत्ता बालिकाहरू अधिकांश १२ वर्षभन्दा मुनिका रहेको जनाएका छन् । बाढीको बेला धेरै मानिसहरू नदी किनारमा पाल टाँगेर ४ जुलाईको आतिशबाजी हेर्ने तयारीमा थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार प्रभावित क्षेत्रको सहयोगमा जुटिरहेको बताएका छन् । उनले होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएम तत्काल टेक्सास जाँदै गरेको जानकारी पनि दिएका छन् । “हामी स्थानीय अधिकारीहरूसँग मिलेर उद्धार र राहत कार्यमा जुटिरहेका छौं,” ट्रम्पले भनेका छन् ।

बेपत्ता भएका २७ बालिकाहरू रहेको क्याम्प मिस्टिक करिब एक शताब्दी पुरानो क्रिश्चियन ग्रीष्मकालीन शिविर हो, जहाँ अमेरिका भरिका करिब ७५० बालिकाहरू सहभागी थिए । शिविर प्रशासनले अभिभावकहरूलाई सन्देश पठाउँदै, “बालिका सुरक्षित रहेको” भनेको छ । तर विद्युत्, इन्टरनेट र पानीको अभावले सञ्चार अवरुद्ध भएको जनाइएको छ ।

बीबीसीका एन्जेलिका कसासका अनुसार, सामाजिक सञ्जालमा शिविरका अभिभावकहरूले आफ्ना छोरीहरूको खोजीमा तस्बिरसहित सम्पर्क नम्बरहरू पोस्ट गरिरहेका छन् । उद्धार टोलीले हालसम्म प्रभावित क्षेत्रमा खोजी कार्यलाई प्राथमिकता दिएको छ ।

केरविल नगरपालिकाले अभिभावकहरूका लागि ८३०–२५८–११११ नम्बरमा हटलाइन सञ्चालनमा ल्याएको छ । यो नम्बर बेपत्ता बालिकाहरूको बारेमा जानकारी लिनका लागि मात्र प्रयोग गर्न भनिएको छ । साथै, राहत र पुनर्निर्माण सहयोगका लागि अनलाइन डोनेसन पेज पनि खोलिएको छ ।

बाढीबाट विस्थापित भएका नागरिकका लागि स्थानीय थिएटर, विश्वविद्यालय र चर्चमालगायतका स्थानहरुमा आपतकालीन आश्रयस्थल सञ्चालनमा ल्याइएको छ ।

हालसम्म केरविल आसपासका क्षेत्रमा बाढीको पानी घट्दै गए पनि हल्का वर्षा र कुहिरोले उद्धारमा कठिनाइ भएको बताइएको छ । मौसम विभागका अनुसार आइतबारसम्म पुनः झरी पर्ने सम्भावना छ ।

अधिकारिहरूले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको जनाएका छन् । उद्धार टोली र स्वयंसेवकहरू अहोरात्र बेपत्ताहरूको खोजी तथा राहत कार्यमा खटिएका छन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ०१ बजे