भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा शनिबार मध्यराति भएको एक विभत्स घटनामा एकै परिवारका चार जनाको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा भोजपुर नगरपालिका–२, हेलौंछाका ३० वर्षीय राजेन्द्र राईलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार, शनिबार राति १:१५ बजे प्रहरी कन्ट्रोल रुम (१००) मा राजेन्द्र राईले फोन गरी आफूमाथि आक्रमण भएको र प्रतिकारमा तीन जनालाई छुरा हानेको बताएका थिए । उनले घटना धोदलेखानीमा भएको र आफ्नो ज्यान खतरामा रहेको जानकारी दिएका थिए । फोन प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार, प्रहरी टोली घटनास्थल पुग्दा बाँसको छाप्रोमा बनेको घरभित्र खाटमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र १० वर्षीय छोरा सपना गिरीको शव फेला परेको थियो । चारै जनाको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
राजेन्द्र राईले फोनमा बताएको स्थानमा प्रहरी पुग्दा उनी भेटिएनन् । करिब आधा घण्टाको खोजीपछि उनलाई घटनास्थलबाट ४–५ किलोमिटर टाढा हर्बु भञ्ज्याङमा रगताम्ये र घाइते अवस्थामा फेला पारिएको थियो । उनको पेटमा छुरा लागेको थियो । “घाइते अवस्थामा फेला परेका राईलाई तत्काल जिल्ला अस्पताल भोजपुर लगियो, जहाँबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ,” प्रहरी निरीक्षक श्रेष्ठले भने।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार, राजेन्द्र राई भोजपुर सदरमुकाममा पेन्टरको काम गर्थे । सोही क्रममा उनको मृतक बेलबहादुर गिरीकी १६ वर्षीया छोरी मनिषासँग प्रेम सम्बन्ध बनेको थियो । परिवारले उक्त सम्बन्ध स्वीकार नगरेपछि राजेन्द्रले किशोरीलाई भगाएर लगेका थिए र उनीहरू नौ महिनादेखि सँगै बस्दै आएका थिए । तर, पछिल्लो समय मनिषाकी आमाले छोरीलाई घर फिर्ता ल्याएकी थिइन् ।
चार–पाँच दिनअघि राजेन्द्र श्रीमती लिन भन्दै ससुराली पुगेका थिए । तर, परिवारले छोरी फिर्ता गर्न अस्वीकार गरेपछि विवाद भएको थियो। प्रहरीका अनुसार, शनिबार राति ९–१० बजेतिर झगडा चर्किएपछि राजेन्द्रले सासू, ससुरा, श्रीमती र सालोमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुमान छ। “आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकारमा हत्या गरेको उनको दाबी छ,” एक अनुसन्धान अधिकृतले भने ।
घटनास्थल सदरमुकामबाट ५–६ घण्टा र नजिकको प्रहरी चौकी ओख्रेबाट २ घण्टा टाढा छ । वडाध्यक्ष राजकुमार तामाङका अनुसार, रातिको समय र भौगोलिक कठिनाइले प्रहरीलाई तत्काल पुग्न चुनौती थियो । मृतक परिवारका सबै सदस्यको निधन भएकाले राजेन्द्रको दाबी पुष्टि गर्न कठिन भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल मृतकका नजिकका व्यक्तिहरूसँग सोधपुछ र घटनास्थलको थप अनुसन्धान गरिरहेको छ ।
रामप्रसाद राई गाउँपालिका–२ का स्थानीयवासी यो घटनाले त्रसित छन् । “मध्यरातमा यस्तो घटना भएको छिमेकीले समेत पत्तो पाएनन्। बिहान प्रहरीको गाडी पुगेपछि मात्र थाहा भयो,” वडाध्यक्ष तामाङले भने। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको छ ।









