नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गरेको आरोपमा पार्टीका १८ नेतालाई अवधी तोकेर पार्टीबाट निस्कासन गरेको छ । असार ९ देखि १७ सम्म बसेको अनुशासन समितिको बैठकले बहुमतको आधारमा कारबाहीको निर्णय गरेको हो ।
पाँच सदस्यीय समितिको संयोजकत्व केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले गरेका थिए । समितिमा ढुंगानासहित ईश्वरी न्यौपाने र ध्रुव वाग्ले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट छन् भने सञ्जयकुमार गौतम र राजीव कोइराला संस्थापनइतर शेखर कोइराला पक्षका छन् ।
अनुशासन समितिमा देशभरका ५० जिल्लाबाट २ हजार १ सय उजुरी परेका थिए, जसमा अधिकांश उजुरी निर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गरेको भन्ने विषयसँग सम्बन्धित थिए । उजुरीहरूको छानबिनपछि समितिले विभिन्न तीन समयावधिका लागि कारबाही गरेको हो – एक वर्ष, छ महिना र तीन महिनाका लागि ।
कारबाहीमा परेकाहरूमा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यस्तै, कास्कीका पूर्व जिल्ला सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।
खनाल कोइराला निकटका मानिन्छन् भने उनको विषयमा केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले उजुरी दिएका थिए । चौधरीले नवलपरासी निर्वाचन क्षेत्रमा आफूलाई हराउन खनाल लागिपरेको आरोप लगाएका थिए ।
अनुशासन समितिमा रहेका कोइराला पक्षका सदस्यहरुले भने कारबाहीप्रति आफ्नो असहमति जनाएका छन् । ‘सर्वसम्मत होइन, बहुमतको आधारमा निर्णय गरिएको हो,’ उनीहरुको भनाई रहेको छ । खासमा आफुहरुले सबैलाई एकपटक सचेत गराएर चेतावनी दिने प्रस्ताव राखेपनि संस्थापन पक्षले बहुमतको आधारमा कारवाही गरेको बताइएको छ ।
समितिका अनुसार कारबाही अघि उजुरी परेकाहरूबाट लिखित स्पष्टीकरण मागिएको थियो । तर अधिकांशको जवाफ चित्तबुझ्दो नभएकोले कारबाही गरिएको हो। निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारलाई हराउन भूमिका खेलेको ठहर गर्दै निष्कासन गरिएको समितिले जनाएको छ ।
कारवाहीमा परेकाहरु:
१ वर्षको कारबाहीमा परेकाहरू
१. तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा,
२. कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
३. लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
४. खोटाङ जिल्लाका सभापति विष्णुकमार राई
५. पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता
६ महिनाका लागि कारबाहीमा परेकाहरू
१. धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव
२. धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
३. धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव
४. मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
५. कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ
६. कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह
७. कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर
८. धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी
९. धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह
१०. क्रियाशील सदस्य लेखराज ओझा
११. धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द
१२. धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी
त्यस्तै कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी ३ महिने कारबाहीमा परेका छन्।










