अन्तत् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन् । एमाले सांसदसमेत रहेका गुप्ता ‘घुस डिल’ काण्डमा मुछिएपछि तीव्र आलोचनाको सामना गरिरहेका थिए ।
गुप्ताले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकै सचिवालय पुगेर राजीनामा बुझाएको बताएका छन् । उनले एक अनलाइनसँगको कुराकानीमा प्रधानमन्त्रीले “रुक्नु रुक्नु” भने पनि आफूले ‘तनाव र पीडा सहन नसकेर’ राजीनामा दिएको दावी गरेका छन् । गुप्ता गत वर्ष असार ३१ मा मन्त्री बनेका थिए । ठीक एक वर्षपछि उनले राजीनामा दिनुपर्यो ।
उनविरुद्ध मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सरुवा रोक्न ५३ लाख लिएको र गण्डकी प्रदेशका एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो घटनापछि उनलाई बर्खास्त गर्न एमालेभित्रैबाट चर्को दबाब आएको थियो ।
घटनाको चर्को आलोचना भइरहँदा गुप्ता तनावमा रहेको र आफू ‘हार्ट अट्याक’ हुने अवस्थामा पुगेको बताएका थिए । उनले भनेका छन्, “तीन दिनदेखि टीभी हेर्न पाएको छैन, मोबाइल चलाउँदा त्यत्तिकै तनाव। मान्छेलाई हार्ट अट्याक हुन्छ, म आफैँ गएर पीएमलाई राजीनामा दिएँ ।”
भगवती न्यौपाने नयाँ मन्त्री
गुप्ताको राजीनामाको केही घण्टामै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका लागि सिफारिस गरेका छन् । राष्ट्रपतिबाट सिफारिस स्वीकृत भएसँगै मंगलबार उनी मन्त्री नियुक्त भएकी हुन् ।
२०८१ साउन १ गतेदेखि राष्ट्रिय सभामा एमालेको मुख्य सचेतक बनेकी न्यौपाने २०७६ माघ ९ गते राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । अब उनको कार्यकाल आठ महिना मात्र बाँकी छ ।
तनहुँमा जन्मे–हुर्केकी न्यौपानेले २०५० सालमा अनेरास्ववियुको तनहुँ जिल्ला कमिटी सदस्य भएर राजनीतिमा प्रवेश गरेकी हुन् । अनेरास्ववियु केन्द्रीय सदस्य, अनेमसंघ तनहुँकी अध्यक्ष र एमाले जिल्ला सचिव हुँदै उनी अहिले पार्टीको केन्द्रीय सदस्य छिन् ।
प्रधानमन्त्री ओलीको विश्वास जितेर मन्त्री बन्न सफल भएको भनिए पनि न्यौपाने स्वयंलाई भने यो नियुक्ति ‘सरप्राइज’ लागेको बताइन् । “मन्त्री बनाउने भनेर कुनै संकेत दिनुभएको थिएन,” उनले भनेकी छन्, “तर विश्वास गर्नुभएको रहेछ, त्यसैले जिम्मेवारी दिनुभयो ।”
२०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाबाट मेयरको उम्मेदवार बनेकी न्यौपाने गठबन्धनको उम्मेदवारका रुपमा पराजित भएकी थिइन् । तर त्यसपछि राष्ट्रिय सभामा पुगेर अब संघीय मन्त्री बनेकी छन् ।









