१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

ट्रम्पले देलान् त यूक्रेनलाई मस्को र सेन्ट पिटर्सबर्ग हान्न सक्ने अतियार



अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले रुसप्रति आफ्नो कडा धारणा स्पष्ट पार्दै युद्ध अन्त्यका लागि नयाँ उपायहरू खोजिरहेका बेला, उनले युक्रेनलाई रूसभित्र प्रहार गर्न सक्ने लामो दूरीका हतियार आपूर्ति गर्ने सम्भावना खुला राखेका छन् । अमेरिकी अधिकारीहरूको भनाइ अनुसार, ट्रम्पले पछिल्ला हप्ताहरूमा युरोपेली सहयोगीहरूसँगको छलफलमा यस्तो सम्भावनालाई नकारेका छैनन् ।

सीएनएनले एक अधिकारीलाई उदृत गर्दै उल्लेख गरे अनुसार ट्रम्पले पछिल्लो समय युक्रेनको क्षमताबारे चासो देखाएका छन्, विशेषगरी मस्को र सेन्ट पिटर्सबर्ग जस्ता मुख्य शहरहरूमा आक्रमण गर्न सक्ने क्षमताका बारेमा । उनले केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई फोन गरेर पनि यस्तै कुरा सोधेका थिए ।

जेलेन्स्कीले यदि आवश्यक हतियार प्राप्त भएमा यस्ता हमला सम्भव हुने बताएका थिए । त्यसपछिका दिनमा युक्रेन, अमेरिका र युरोपेली मुलुकबीच लामो दूरी क्षेप्यास्त्र आपूर्तिका विषयमा छलफल अगाडि बढेको स्रोतले जनाएको छ ।

यद्यपि ट्रम्पले यस्तो अभिव्यक्ति दिएपछि फाइनन्सियल टामइम्समा खबर प्रकाशित भएको थियो, जसमा उनी युद्ध थप चर्किन सक्ने गरी आक्रमणका सम्भावनाको पक्षमा देखिन्छन् । यसबारे ह्वाइट हाउसका प्रवक्ता क्यारोलाइन लेभिटले स्पष्टीकरण दिँदै भनिन्, “राष्ट्रपति ट्रम्पले प्रश्न सोध्नुभएको मात्र हो, युद्ध थप उक्साउने मनसाय थिएन । उहाँ युद्ध रोक्न र जनधनको क्षति अन्त्य गर्न अहोरात्र लागिरहनुभएको छ ।”

सोमबार ह्वाइट हाउसमा आयोजित बैठकमा ट्रम्पले युरोपेली मुलुकहरूलाई अमेरिकी हतियार खरीद गर्न र त्यसपछि युक्रेनलाई आपूर्ति गर्न दिने योजना घोषणा गरे । यस योजना अन्तर्गत पहिले पेट्रियट मिसाइल प्रणाली जस्ता हवाई रक्षा उपकरणहरू पठाइनेछ । यस्ता उपकरणहरू हाल युरोपेली भण्डारणमा उपलब्ध छन् र ती छिटो पठाउन सकिनेछ ।

नाटोका महासचिव मार्क रुटेले योजना विस्तृत गर्दै भने, “यसमा सबै प्रकारका हतियार समेटिन्छन्, प्रतिरक्षात्मक र आक्रमणात्मक दुवै । विस्तृत छलफल पेण्टागन, युरोपस्थित उच्च सैन्य कमाण्ड र युक्रेनी अधिकारीबीच भइरहेको छ ।”

युक्रेनले विगतमा एप १६ लडाकु विमानबाट प्रहार गर्न सकिने जेएएसएसएम मिसाइलहरू माग गरिसकेको छ, तर ती अझै पाएको छैन । युरोपेली मुलुकहरूले युक्रेनलाई एफ १६ विमानहरू पहिले नै उपलब्ध गराइसकेका छन् ।

अघिल्लो कार्यकालको अन्त्यतिर राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ATACMS (Army Tactical Missile System) उपलब्ध गराएका थिए, जसले रुसको केही भुभागमा प्रहार गर्न सक्छ, तर ट्रम्पले जेलेन्स्कीलाई सोधेका दुई शहरसम्म पुग्न भने सक्दैन । ट्रम्पले यस निर्णयलाई “मूर्खतापूर्ण र ठूलो गल्ती” भनेका छन् ।

ट्रम्पको नीति अझै स्पष्ट नभए पनि लामो दूरीका हतियारबारे खुला ढोका राख्नुले युक्रेनमा युद्धको नयाँ अध्याय सुरु हुनसक्ने संकेत देखिएको छ । ट्रम्पले ‘शान्ति ल्याउने प्रयास’ भन्दै गरेको दबाब र युक्रेनले देखाएको तत्परताले युद्ध अन्त्यतर्फ उन्मुख हुने वा थप चर्किने भन्ने कुराको निकट भविष्यमा प्रस्टो हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ०१ बजे